Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

सत्ताको लुछाचुँडीले महामारी नियन्त्रण छायाँमा

सत्ताको लुछाचुँडीले महामारी नियन्त्रण छायाँमा

  • 353
    SHARES
  • सत्ताको लुछाचुँडीले महामारी नियन्त्रण छायाँमा

    जब आफूलाई दुःख पर्दा आफ्नै घर परिवारका सदस्य, आफन्त वा इष्टमित्र कसैले वास्ता गर्दैनन् अनि तिनीहरू जिन्दगीभरलाई आफ्नालागि मरे जस्तो लाग्छ । उनीहरूको घरमा कहिल्यै टेक्न नपरे हुन्थ्यो जस्तो लाग्छ । उनीहरूसँग भेट भएमा पनि मुन्टो बटारेर हिँड्न मन लाग्छ । अहिले आम नागरिकलाई सरकारप्रति ठिक त्यस्तै भइरहेका छ । 

    गएको वर्ष पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि देश दुई राजनीतिक कित्तामा विभाजित हुन पुग्यो । कसले ठूलो आमसभामा गर्ने र कसको पक्षमा धेरै मानिस उतार्ने भन्ने होडबाजी चल्यो र गाउँ-गाउँबाट मानिस ओसारिए । राजनीति गर्नकै लागि नेताहरूले गरेको यो पछिल्लो उदाहरण हो । पुस ५ कै पुनरावृत्ति जेठ ७  पनि भयो । सायद कोभिडको यो भयावह स्थिति नभएको भए गएको ८ गतेदेखि पुनः सडकमा मानिसको लहर पुस ५ पछिकै जस्तो अवस्थामा आउनेमा कुनै शंका थिएन । 

    त्यसो त २०६६/६७ सालमा माधव नेपालको सरकार ढाल्नको लागि तत्कालीन एकीकृत नेकपा माओवादीले पनि मानिस ओसार्नु ओसारेको थियो । त्यसभन्दा अगाडि २०६२/६३ मा पनि जनताकै साथले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको दुनियाँलाई अवगत भएकै कुरा हो । यी उदाहरण यहाँ किन प्रस्तुत गरिएको भने राजनीतिक दल र नेतालाई अप्ठ्यारो पर्दा जनता कति महत्वपूर्ण हुँदा रहेछन् भन्नको लागि हो ।

    जसले अहिले सत्तामा रहेकालाई भोट हालेर त्यो स्थानमा पुर्यायो आज तिनीहरू नै एकमुठी अक्सिजन नापएर मृत्यु शैय्यामा छटपटाइरहेका छन् र मृत्युवरण गरिरहेका छन् के भोलि फेरि यी दल र नेताहरूलाई यी नेपाली जनताको साथ सहयोग चाहिँदैन ? यदि चाहिन्छ भने आज यस्तो महामारीको अवस्थामा पनि किन दल, नेता र सरकार जनताको स्वास्थमाथि खेलबाड गरिरहेका छन् ?

    जनताको अवस्था कस्तो छ भन्ने कुरा हिजोका दिनमा आफ्ना आमसभामा खोजी हिंड्नेलाई थाहा नभएको पक्कै होइन । तर उनीहरूलाई हिजो आज जनता चाहिएको छैन केवल सांसद भए पुगेको छ । यदि अहिलेको राजनीतिक निकासको लागि जनताको प्रत्यक्ष संलग्नताको आवश्यकता परेको हुन्थ्यो भने यिनै दलहरूको होडबाजीले जनता तानातानमा पर्थे । जसरी अहिले सांसद तानातानमा परेका छन् । 

    जताततै कोरोनाको बिगबिगी छ । एउटा संक्रमितको चित्कार अर्को संक्रमितले नै सुनेर देह त्याग गर्नु सिवाय अर्को उपाय छैन । देशमा सरकार छ कि छैन भन्ने प्रश्न अनुत्तरित नै छ । जनताको प्रतिनिधि भएर गएको सरकारले आफ्नो आवश्यकतालाई हेरेर कार्य सञ्चालन गर्ने होइन ऊ जहिले पनि जनताप्रति उत्तरदायी हुनुपर्छ । 

    नेपालको सन्दर्भमा अहिलेको कुरा गर्दा ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो भएको छ । सत्तामा बसेकाहरूलाई रातदिन सरकार जोगाउने पीर, सरकार बाहिर बसेकालाई कुन उपायले सरकार लडाउने भन्ने पीर, यता जनतालाई अक्सिजनका सिलिण्डर जुटाउने पीर । अहिले देशको राजनीतिमा जुन खालको घिनलाग्दो खेल भइरहेको छ यो समयमा त्यो कुनै पनि कोणबाट सुहाउँदो हुनै सक्दैन । देशमा तीनवटा सरकार छन् । तर ती कहाँ के गरिरहेका छन् ? कुनैको पत्तो छैन । 

    संघीयता भनिए पनि प्रादेशिक सरकारलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिएको छैन । केन्द्र सरकार वालुवाटारबाट बाहिरै निस्कँदै निस्कँदैन । अहिलेको समस्या भनेको कोरोनाका बिरामीको मात्रै होइन यसैका कारणले बन्दाबन्दीको चपेटामा परेका श्रमजीवी वर्गको पनि हो । कोभिड संक्रमित र मृत्युका समाचारले पर्याप्त ठाउँ पाउँदा ती श्रमजीवी वर्गहरूको अवस्था ओझेलमा परेको मात्रै हो । भन्नेहरू भन्छन्- कोही भोकले मर्नु पर्दैन, कोही सडकमा बस्नु पर्दैन । 

    तर त्यो भन्नेहरूले को-को कुन कुन अवस्थामा सडकमा बसेका छन् र को को भोकले छटपटाइरहेका छन् भन्ने कुरा कहिल्यै हेर्ने कष्ट गरेनन् । केवल भाषणमा बोलेर पपुलर भइरहे । गत वर्षको बन्दाबन्दीमा राजधानीका सडक र खुल्ला ठाउँमा विभिन्न संघसंस्थाले कति मानिसलाई खाना खुवाए त्यसको रेकर्ड सरकारसँग छैन । 

    सरकार त्यस्ता रेकर्ड खोज्न पनि चाहँदैन । जनताको पीडा एकातिर छ भने अर्कातिर सरकारको तमासा प्रदर्शन भइरहेको छ । यो बेला यस्तो बेला हो जतिबेला २०७२ सालको महाभूकम्पका बेला सबै राजनीतिक दलहरू मिलेर एकजुट भएर जनताको उद्दारमा खटेका थिए । हो, त्यही समय अहिले पनि अउनु पर्ने हो । तर अहिले अवस्था ठ्याक्कै उल्टो छ । अहिले जुनसुकै दलले मुखले जतिसुकै लोलोपोतो घसे पनि यथार्थमा जनहीतमा कसैको ध्यान छैन । वर्तमान समस्याको मुख्य जिम्मेवार सरकार नै हो । 

    खोप, औषधि लगायत विभिन्न सामग्रीको खरिद प्रक्रियामा अहिले जुन किसिमका बाधा उत्पन्न भइरहेका छन् त्यसको समाधान सरकारी तवरबाट नै हुनुपर्छ । प्रतिपक्षी दलले गर्ने भनेको खबरदारी मात्रै हो । अहिलेको सरकार यति नकटो छ कि यसलाई लाज, शरम, घिन भन्ने कुरा कत्तिपनि छैन । जनता यसरी बिस्कुनसरी लडिरहँदा पनि संक्रमण नियन्त्रणमै रहेको देख्ने सरकारलाई अन्धो भनेर शब्द खर्च गरिरहनु नपर्ला । सरकारको हेर्ने आँखा छुट्टै भए भगवान् जानुन् होइन भने कोरोना संक्रमण नियन्त्रण बाहिर गएको धेरै समय भइसक्यो ।

    जसरी अहिले सम्पूर्ण राजनीतिक दलहरू सत्ता टिकाउन र हटाउन जोडतोडका साथ लागिपरेका छन् त्यसैगरी यो महामारीका बिरुद्ध लडेको भए धेरै नागरिक मृत्युको शिकार बन्नु पर्ने थिएन । सरकारका जिम्मेवार मन्त्री नै बिचौलिया र घुसखोरीका कारण स्वास्थ्य सामग्री ल्याउन सकिएन भनेर रुन्चे स्वरमा कराइरहेका छन् । चाहेर पनि सरकारले गर्न सक्ने अवस्था छैन भनेर चुप लागेर बस्ने अधिकार सरकारलाई हुँदैन । 

    जनता मरेको टुलुटुलु हेरेर बस्ने नैतिकता पनि यिनलाई छैन । यो देशमा कुनै पनि मन्त्रालयको सम्पूर्णाधिकार सम्बन्धित मन्त्रीलाई हुने गर्छ । अनि मन्त्रीले गर्न नसक्ने भन्ने प्रश्नै उठ्दैन । कि प्रधानमन्त्रीको ठाडो आदेशले रोकेको हुनुपर्छ ।  मन्त्रीले गर्न नसक्ने काम सिद्ध गर्न सक्ने त्यो भन्दा माथिल्लो निकाय कुन हो ? आफूले नसके त्यो जिम्मेवारी पूरा गर्न सक्नेलाई कार्यभार सुम्पिएर खुरुखुरु बाटो लाग्ने हिम्मत गर्न सक्नुपर्छ तब मात्रै असल नेतृत्वको रूपमा आफ्नो छवी निर्माण हुन्छ । 

    काम गर्न सकिन भनेर दाेहाेर्याइ-दाेहाेर्याइ फेरि त्यहीँ पुग्नुले लुब्धताको उपनाम सुरिक्षित गर्नु मात्र हो । अहिलेको अवस्थामा जनताको स्वास्थमा चरम खेलवाड गर्ने को हो ? त्यस्तालाई कारबाही गर्न मन्त्रीलाई कसले रोकिरहेको छ ? मन्त्रीभन्दा माथिल्लो निकाय प्रधानमन्त्री होलान् । कि प्रधानमन्त्रीले रोकिरहेका छन् ? 

    यदि त्यस्तो हो भने सम्बन्धित मन्त्रीले भन्न सक्नुपथ्र्यो मलाई यो यो निकायबाट काम गर्न दिइएन भनेर तर त्यसो गर्ने आँट कसैमा छैन, अनि गोहीको आँसु झारेजस्तो गरेर आफूले चाहाँदा चाहँदै पनि काम गर्न दिइएन भन्ने खालको खल चरित्र देखाउने, काम फत्ते गर्न पनि नसक्ने पदमा पनि टाँसिइरहने यस्ता लुब्ध प्रवृत्तिका मान्छेबाट जनताले के अपेक्षा गर्ने ? 

    यस्तो आपतका बेला जनताको स्वास्थ्यमाथि खेलबाड गरेको आफैंले टुलुटुलु हेरेर बस्न कुन नैतिकताले दिएको छ ? यहाँ जतासुकै अनियमिता बढिरहेको छ । चरणवद्ध कोरोनाको इन्ट्री त सरकारको हालिमुहाली गर्नेहरूलाई काइदाको कमाइ खाने भाँडो भएको छ । कुन समयमा कुन काम महत्वपूर्ण छ त्यसलाई प्राथमिकता दिएर अगाडि बढ्नु नै ओहोदामा रहेकाहरूले जनताका लागि गरेको सफल कार्यका रूपमा दर्ज हुने गर्छ । 

    मानिसले मानिसलाई दुई किसिमले सम्झने गरेको हुन्छ । एउटा असलका रूपमा अर्को खराबका रूपमा । आपतकालीन अवस्थामा सहयोग गर्नेलाई जोकोहीले पनि आजिवन सहयोगीका रूपमा सम्झने गर्छ भने दुःखमा रमिता हेर्नेलाई कहिल्यै पनि उसले सकारात्मक दृष्टिले हेर्न सक्दैन । 

    जस्तो अहिलेको सरकार छ यो सरकार उसैका आसेपासे भन्दा अरू कसैका लागि कहिल्यै असल सावित हुनै नसक्ने गरी गिरिसकेको छ । यस्तो बेलामा सत्तापक्ष र प्रतिपक्षका बीचमा केवल संसद विघटन र पुनर्थापनाको जुहारी चलिरहेको देख्दा यही माहामारीमा परेर मृत्यु भएकाहरूको मृतात्माले पनि यो सरकारलाई धिक्कारीरहेका होलान् । 

    यो सरकारले कामै गर्न नसकेर होइन ऊ केवल सत्ता टिकाउन लागि परेको हुनाले कोरोनाको केशमा रमिते बनिरहेको छ । यतिबेला कुनै पनि ठाउँमा सरकारको उपस्थिति शून्य प्रायः देखिएको छ । सरकार बिरामीलाई अक्सिज उपलब्ध गराउनतिर होइन आर्यघाटमा दाउरा जुटाउनतिर सक्रिय छ । दिनरात संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न होइन आर्यघाटमा लास जलाउनेलाई प्रोत्साहन भत्ता दिन सक्रिय छ । 

    यसरी जनता बिस्कुनसरी हुँदा रमिता हेर्ने सरकारको मुख ताकेर जनता बस्नु भनेको काल पर्खनु सिवाय अरू केही होइन । अब आफ्नो ज्यान आफैं जोगाउँ र भगवान् भरोसामा बस्नुभन्दा अर्को विकल्प देखिँदैन । राजनीतिक चर्किरहोस् कहिले सासुको पालो कहिले बुहारीको पालो भने झैँ धर्ती गोलो छ आज जनतालाई रुवाएका छन् भोलि यिनै राजनीतिकका असफल खेलाडीलाई फेरि यिनै जनताले रुवाउने बेला आउने छ । यिनीहरूमा पलाएको सत्ताको उन्माद धेरै टिक्दैन । भोलि जनताले पुनः साटो फेर्ने छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology