Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

स्वास्थ्य जोखिममा पारेर गर्भपतन

स्वास्थ्य जोखिममा पारेर गर्भपतन

  • 217
    SHARES
  • स्वास्थ्य जोखिममा पारेर गर्भपतन

    बाग्लुङ । अहिले बजारका औषधी पसलमा गर्भपतन गराउने औषधी छ्याप्छ्प्ती पाइन्छन् । कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउने हो ।

    images

    तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधी बेच्ने गरेका छन । पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ ।

    बाग्लुङमा गर्भपतन गराउनेको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पाँच सय ७६ जनाले गर्भपतन गराएका थिए । बीस वर्ष मुनिका छ जना छन भने त्यसभन्दा माथिका पाँच सय ७० छन ।

    आव २०७७/७८ मा छ सय ९८ जनाले गर्भपतन गराएका थिए । चार जना २० वर्षमुनिका छन । आव २०७८/७९ मा छ सय ९१ जनाले गर्भपतन गराएको तथ्यांक छ । तीन जना २० वर्ष मुनिका छन ।

    चालु आवको आठ महिनामा २० वर्षमुनिका एकसहित चार सय ८१ जनाले गर्भपतन गराएका छन । अवैध सम्बन्ध राखेकाले नै बढीजसो गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

    सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी क्लिनिकमा गर्भपतन गराउनेको संख्या अत्यधिक छ । ढोरपाटन नगरपालिका-१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चालु आवको हालसम्म एक सय ८६ जनाले गर्भपतन गराएका छन ।

    स्वास्थ्य केन्द्रका प्रमुख डा.निरज सुवेदी अविवाहित र बैबाहिक जीवनमा खटपट भएकाहरू बढीजसो गर्भपतन गराउन आउने गरेको बताए । महिला-पुरुष दुवैले यौन सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग नगर्दा यस्तो समस्या बढेको उनको भनाइ छ ।

    ‘उमेर पुगेका महिलादेखि किशोरी पनि गर्भपतन गराउन आउनुहुन्छ’, डा.सुवेदीले भने, ‘यो तथ्यांक अस्पतालमा आएर सुरक्षितरूपमा गर्भपतन गराएकाहरूको हो, यसबाहेक बाहिर असुरक्षित गर्भपतन गराउने पनि छन्, लाज र डरले गर्दा उनीहरू अस्पताल आउँदैनन् ।’

    गलकोट नगर अस्पतालमा पनि गर्भपतन गराउनेको संख्या बढी रहेको पाइएको छ । नगर अस्पतालका प्रमुख डा.राजेश पौडेलका अनुसार आव २०७८/७९ मा ४० जनाले गर्भपतन गराएकामा चालु आवको हालसम्म ५० जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन।

    बाग्लुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पछिल्लो समय दुईभन्दा बढी सन्तान जन्माउन छाडेपछि गर्भपतन गराउनेको संख्या बढेको जानकारी दिए । स्वास्थ्य संस्थामा सुरक्षितरूपमा गर्भपतन हुन्छ भन्ने महिलाको चेतना वृद्धि भएपछि वार्षिकरूपमा केही संख्या बढ्नु स्वभाविक भएको उनको भनाइ छ ।

    प्रमुख खनालले भने, ‘अहिले धेरै बच्चा जन्माउन चाहँदैनन्, छोराको चाहाना धेरैले राख्छन्, छोरी-छोरी भए भने पनि उनीहरूले छोराका लागि प्रयास गर्ने र फेरि छोरी हुने देखिएपछि गर्भपतन गराउने गरेको पाइन्छ ।’

    धवलागिरि अस्पतालमा पनि गर्भपतन गराउनेको संख्या बढी छ । अघिल्लो आवमा तीन सय ४५ जनाले गर्भपतन गराएका थिए । त्यसमध्ये ४८ महिलाको जटिल किसिमले गर्भपतन गराएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडलले बताइन् ।

    चालु आवको हालसम्म दुई सय ६० महिलाले गर्भपतन गराएको पाैडलको भनाइ छ । त्यसमध्ये १५ जनाको जटिल किसिमले गर्भपतन भएको पौडेलले जानकारी दिइन् ।

    बजारमा केही स्वास्थ्य संस्थाले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि बेच्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

    कतिपय महिलाले पटक-पटक गर्भपतन गराउनेसमेत गरेका छन । यसले स्वास्थ्यमा असर पुर्याउनुका साथै अर्को पटक बच्चा नबस्ने जोखिम हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.सुवेदीले बताए ।

    धेरै पटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवनासमेत हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र ठूलै शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने हुन्छ ।

    डा सुवेदीले भने, ‘गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, गर्भपतन नर्गनका लागि शारीरिक सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग गर्नु नै राम्रो हुन्छ, यति सजहता अपनाइयो भने समस्या हुँदैन ।’

  • सम्बन्धित विषय:

  • # गर्भपतन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology