Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

  • 208
    SHARES
  • गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ ।

    images

    कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ । कोषले २०६८ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो ।

    नियमावलीअनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रूपमा रहेको पशुपतिनाथको भेटीघाटी पारदर्शी भएपनि गुह्येश्वरी, विश्वरुप, चन्द्रविनायकलगायत महत्वपूर्ण मन्दिरको भेटीघाटी व्यवस्थित गर्न अझै नियमावली बन्न सकेको छैन ।

    गुह्येश्वरीमा छुट्टै कार्यालय खुलेपछि नियमावली बनाएर यहाँको भेटीघाटी पनि पारदर्शी गर्ने कामलाई प्राथमिकतामा राखिने उनले बताए । यसैगरी चन्द्रविनायक मन्दिर क्षेत्रलाई पनि व्यवस्थित गर्न छुट्टै कार्यालयको स्थापना गरिनुपर्ने चाबहिलका स्थानीयवासी भरत पौडेलले माग गरे ।

    चन्द्रविनायक मन्दिर क्षेत्रमा रहेको जग्गामा बनेको भवन र सार्वजनिक जग्गालाई व्यवस्थित गर्न पनि यहाँ छुट्टै कार्यालय स्थापना गरिनुपर्ने स्थानीय पौडेलको भनाइ छ ।

    चन्द्रविनायक काठमाडौं उपत्यकाका चार विनायकमध्ये एक हो । यहाँ प्रत्येक हप्ताको मंगलबार हजारौं भक्तजनको भीड लाग्ने गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology