पाल्पा । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन बन्दना पोखरेल ।
पत्रकारिता, सामाजिक अभियान्ताको रूपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरूपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरूद्ध सशक्तरुपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीकोरूपमा चिनिन थालेकी छन ।
पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरूका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको पाेखरेलले बताइन् ।
एक वर्षअघिदेखि उनले रामपुरमा अचार उत्पादन सुरु गरेकी छन । पारिवारिक अवस्था अब्बल रहेपनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको गरुन् भनेर आफैँले व्यस्त समयका अलवा व्यावसायिक अचार उत्पादन सुरु गरेको उनले जानकारी दिइन् ।
‘महिलालाई सशक्तीकरण गर्न, रामपुरको उत्पादन बाहिर चिनाउन र फुर्सदको समय सदुपयोग गर्दै यस व्यवसायमा लागेको छु’, पाेखरेलले भनिन, ‘अहिलेको बजार अवस्था राम्रै रहेकाले उत्पादन वृद्धि गर्दै जाँदा यसबाट मनग्य आम्दानी लिन सकिने सम्भावना एक वर्षको अनुभवले मैले देखेको छु ।’
उनले घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ‘भान्छाको साथी दिदीको अचार’ नाममा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन सुरु गरेकी छन । पाेखरेलकाे उद्योगमा मुला, गाँजर, गुन्द्रुक, भटमास, तामा, अकबरे खुर्सानी, मेथी, लसुन, आँप, अमला, इमिली, लप्सीलगायतका गाउँघरमा उत्पादन हुने कृषिउपजबाट विभिन्न खालका अचार उत्पादन हुन्छ।
होलसेल मूल्य हाल (तौलअनुसार फरक) न्यूनतम एक सय १० देखि बढीमा दुई सय ५० र खुद्रा मूल्य न्यूनतम एक सय ३५ देखि तीन सयमा बिक्री भइरहेको छ ।
उनले भनिन, ‘अचारको माग धेरै आएको हुँदा यसलाई विस्तार गरी ठूलो मात्रामा उत्पादन गर्ने तयारी गरिरहेको छु, ल्याब टेस्टको लागि भैरहवा पठाइएको हुँदा त्यसको रिपोर्ट आएपछि उत्पादन बढाएर विभिन्न स्थानमा ब्राण्ड बनाएर बजार पठाइनेछ ।’
पाल्पा (तानसेन), बुटवल, काठमाडौंमा समेत अचार खपत हुने गरेकाे छ । स्थानीय उत्पादन भएकाले विभिन्न स्थानबाट खोजी खोजी अचार माग गर्ने बढेको उनकाे भनाइ छ । स्थानीय उत्पादनको स्वाद फरक र गुणस्तर राम्रो भएकाले विदेशमा बसोबास गर्ने नेपालीबाट माग भई विभिन्न देशमा अचार पुगेकाे पोखरेलले बताइन् ।
कोभिड-१९ को प्रभावले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै केही नयाँ उद्यम गरौँ भन्ने मनसायले यस व्यवसायमा सीप सिकेर उत्पादन सुरु गरेको उनको भनाइ छ । उद्यमी पोखरेलले काठमाडौंको बूढानीलकण्ठमा रहेको रिक फुड उद्योगमा पाँच दिनको तालिम लिएर व्यावसायिक उत्पादनलाई जोड दिएकी हुन ।
‘न्याय र समानता, आर्थिक समृद्धिका लागि महिलाको अर्थपूर्ण सहभागीता हुनु जरुरी छ, महिला आफैँमा आर्थिक क्षेत्रमा सक्षम भइएन भने घरपरिवार, समाजमा हिंसाको सिकार बन्नुपरेको छ, आफैँले कमाउन सकियो भने अरुसँग आश्रित हुनुपरेन, यसले महिला हिंसाका घटना कमी हुँदै जानेछ’, पोखरेलले भनिन् ।
उनले रामपुरमा भएको व्यापार मेलामा एक लाख २५ हजार बराबरको अचारको कारोबार गरेकी थिइन् । एक वर्षको अवधिमा उनले एक हजार पाँच सय किलो अचार बजारमा बिक्री गर्न तीन सय किलो अचार बाँकी छ भने उत्पादन कार्य चलिरहेको छ ।
एक वर्षको अवधिमा करिब दुई लाख बराबरको अचार बिक्री भएको छ । गत माघ २७ देखि फागुन ८ सम्म रामपुरमा चलेको तेस्रो व्यापार मेला तथा व्यापार मेलामा कृषि ज्ञान केन्द्र पाल्पाको स्टल व्यवस्थापनमा राखिएको अचार मेलाको मुख्य आकर्षणसमेत बनेको थियो ।
सोही मेलाका कारण अहिले अचारको माग थपिँदै गएको उद्यमी पोखरेलले बताइन् । यस क्षेत्रमा सुक्खाभन्दा झोलिलो अचार खोज्ने ग्राहक बढेकाले उनीहरूको मागलाई मध्यनजर गर्दै झोलिलो खालको अचार उत्पादन गर्ने उनको सोच छ ।
आफ्नै गाउँघरका खेतबारीमा उत्पादन भएका कृषिजन्यउपजलाई अचार बनाएर बजार पठाउँदा आनन्दको अनुभूति भएको उनले अनुभव छ ।
आफूले केही व्यवसाय गरेर समाजमा अन्य महिलालाई पनि विभिन्न उद्यम, व्यवसाय गर्न अग्रसर गराउँदै सामाजिक अभियान्ता, पत्रकारिता सँगसँगै यस उद्योगलाई निरन्तररूपमा अगाडि बढाउने उनी बताउँछिन् ।
उद्यमी पोखरेल हाल बोलीखबर डटकमका सम्पादक, मेचीकाली राष्ट्रिय दैनिकका पाल्पा संवाददाता तथा प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष हुन ।
यसका अलवा अहिले उनी मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समितिद्वारा सञ्चालित साइपल बोटेक ज्वइक टिएमएस जेभी एसोसिएसनको सामाजिक सहजकर्ताका रूपमा समेत काम गर्दै आएकी छन ।
व्यस्त समयको बाबजुद पनि अचार उत्पादनमा सक्रियताका साथ लागिरहेकी छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology