काठमाडौं । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम-११ ले जित हासिल गरेको छ।
बुटवल उपमहानगरपालिका-११ देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा रुपन्देही-११ लाई सुदूरपश्चिम-११ ले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो।
सुदूरपश्चिमले ३ गोल गर्दा रुपन्देहीले १ गोलमात्रै गर्न सकेको हो। रुपन्देही १४ औं र १८ औं संस्करणको विजेता रहिसकेको छ। यसपटक भने पहिलो खेलबाटै बाहिरिएको हो।
सुदूरपश्चिमका फागुराम थारुले दुई गोल र स्वाम्या हार्दिकले एक गोल गरेका थिए। पहिलो हाफको ३१ औं मिनेटमा फ्रि किक मार्फत फागुराम थारुले हानेको बलले जाली चुमेपछि सुदूरपश्चिमको खाता खोलिएको थियो।
दोस्रो हाफको सुरूवाती मिनेटमै प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै हार्दिकले बललाई जाली चुमाउँदै २ शून्यको अग्रता बनाएका थिए।
खेल अवधिभर नै उत्कृष्ट खेल प्रस्तुत गरेका सुदुरपश्चिम ११ का फागुरामले दोस्रो हाफको २४ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३ शून्यको अग्रतामा पुर्याए।
दोस्रो हाफमा थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा रुपन्देहीले गोल गर्न सफल भयो। सुदूरपश्चिमको डी एरिया भित्र फउल भएपछि पाएको पेनाल्टीमार्फत रुपन्देहीका फोडे फोफोनाले गोल गरेका हुन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology