Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बढ्दो महँगीले परम्परागत घरायसी सामग्रीकाे पेसा संकटमा

बढ्दो महँगीले परम्परागत घरायसी सामग्रीकाे पेसा संकटमा

  • 217
    SHARES
  • बढ्दो महँगीले परम्परागत घरायसी सामग्रीकाे पेसा संकटमा

    बन्दीपुर । बन्दीपुर गाउँपालिकामा रहेका करिब ४० घर भुजेलले बाँसबाट निर्मित सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन ।

    images

    बाँसबाट निर्मित परम्परागत घरायसी सामग्री बिक्री गरेर घरको दैनिकी धान्दै आएका उनीहरू पछिल्लो समय संकटमा पर्दै गएका छन । बजारमा कच्चापदार्थ बाँस, दैनिक उपभोग्य सामग्री र यातायातको भाउ बढेपछि आफूहरूको आम्दानी खुम्चीएको ५३ वर्षीय चन्द्रबहादुर भुजेलले बताए ।

    ‘बजारमा तेलदेखि चामलसम्मको मूल्य अकाशिएपछि बजार जान सकिने अवस्था छैन’, चन्द्रबहादुरले भने, ‘तर हाम्रो मूल्य भने पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । मूल्य बढाउन खोजे कसैले पनि किन्दैनन् ।’

    आफूहरूले करिब १७ किलोमिटर टाडा पर्ने व्यास नगरपालिका-११ कमलबारीदेखि प्रतिघना बाँसको दुई सयदेखि दुई सय ५० रूपैयाँसम्म तिरेर ट्र्याक्टरमा हालेर ल्याउनुपर्ने अवस्था रहेपनि बजारमा सस्तोमा बाँसको सामग्री बिक्री गर्नुपर्दा पेसाप्रतिको मोह घट्दै गएको उनकाे भनाइ छ ।

    ‘बाउबाजेको पालादेखि गरिँदै आएको भनेर यही पेसा अँगालियो’, चन्द्रबहादुरले भने, ‘बजारमा हामीले राखेको मूल्यमा कहिल्यै सामान बिक्री हुँदैन । हाम्रो सामान तर मूल्य ग्राहकको हुने गर्छ ।’

    आफूहरूले बाँसबाट बनाएको डालो, नाङ्लो, मान्द्रो र कुचोलगायतका सामग्री होलसेलमा खरिद गर्ने व्यापारीबाट झनै सास्ती पाउने गरेको २९ वर्षीया तारा भुजेलले बताइन् । आफूहरूले बनाएको कुचोलाई प्रतिवटा २० मा खरिद गरेर होलसेल व्यापारीले ५० देखि ७० सम्ममा ग्राहकलाई बिक्री गर्ने गरेको ताराको दुखेसो छ ।

    ‘दिनभरि सामान बोकेर व्यापार गर्न पनि पहिले जस्तो सजिलो छैन’, ताराले भनिन्, ‘महँगोमा बाँस किनेर सस्तोमा सामान बेच्नुपर्दा पेसा धान्न धौधौ छ ।’

    बन्दीपुर गाउँपालिकाको कार्यालयमा गएर आफूहरूले निश्चित शुल्क लिएर बाँसका सामग्री बिक्री गर्ने व्यवस्था मिलाइदिन पटकपटक अनुरोध गरेको भएपनि सुनुवाइ नभएको ताराकाे भनाइ छ ।

    प्रतिघना बाँसबाट दुईरतीन वटा नाङ्लो तथा चार/पाँच वटा कुचो बन्छ । ती सामग्री बनाउन करिब दुई दिन लाग्ने भुजेलको भनाइ छ । आफूहरूले प्रतिनाङ्लोको तीन सय रूपैयाँ तोके पनि उक्त दरमा कसैले नकिन्दा सस्तोमा बेच्न बाध्य हुनुपरेको भुजेलको गुनासो छ ।

    ‘हामीले महँगोमा बाँस खरिद गर्नुपर्दा पेसा संकटमा परेको छ’, स्थानीय ५५ वर्षीया हस्तबहादुर भुजेलले भने, ‘सस्तोमा बाँस खरिद गर्न पाए पो हाम्रो सामानको मूल्य पनि सस्तो नै पर्ने थियो । अहिले घाटाको व्यापार गर्नुपरेको छ ।’

    उनका अनुसार बाँसको सामग्री बनाउने परम्परागत पेसाप्रति युवापुस्ताको भने रुचि देखिँदैन । मेहनत बढी र फाइदा कम हुने पेसा भएकाले गाउँका युवाको रुचि वैदेशिक रोजगारीमा नै हुने गरेको हस्तबहादुरको भनाइ छ ।

    बाँसको सामान बिक्री गरेर दैनिक दुई/तीन सय रूपैयाँ पनि हात पार्न समस्या भएको उनले बताए । पुरुषसँगै भुजेल महिलाले पनि सँगै बाँसको काम गर्ने प्रचलन छ ।

    ‘१५र१७ वर्ष पहिले सस्तो थियो । घरमै बसेर दुई चार रुपैयाँ खेलाउन पाइन्थ्यो’, हस्तबहादुरले भने, ‘तर अहिले कसैले कति पर्छ भनेर सोधे कति दिनुहुन्छ भन्नुपर्ने अवस्था छ । हाम्रो श्रमको मूल्य नै छैन । घाटाको व्यापार गर्दिन भनेर ३२ वर्षीय छोरा इन्द्रबहादुर पनि कतार हानियो ।’

    गाउँका करिब १२/१५ युवाले बाँसको परम्परागत सामग्री बनाउने पेसा छाडेर रोजगारीको क्रममा कतार, मलेसिया, साउदी र दुबईलगायत विभिन्न खाडी मुलुक गएको तथ्यांक आफूहरूसँग रहेको स्थानीयको भनाइ छ ।

    भुजेलको परम्परागत पेसा संरक्षणका लागि अनुदान दिने व्यवस्था गरे पनि फर्म दर्ता गर्नेबारेमा भुजेललाई जानकारी नहुँदा समस्या भएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले परम्परागत सामग्री बनाउने भुजेलको पेसा संरक्षणका लागि आफूहरूले विशेष कार्यक्रम नै बनाउन लागेको जानकारी दिए ।

    ‘बजारमा बढ्दो महँगीले गर्दा भुजेलको परम्परागत पेसा संकटमा पर्दै गएको छ’, अध्यक्ष थापाले भने, त्यसको संरक्षणका लागि हामीले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology