Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रगतको माग बढ्दै

रगतको माग बढ्दै

  • 288
    SHARES
  • रगतको माग बढ्दै

    चितवन । रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ ।

    अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो ।

    यहाँ रक्तसञ्चार केन्द्रले रगत संकलनका लागि शिविर सञ्चालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले युवा जनशक्ति पलायन हुँदा रगतको अभाव बढ्दै गएको बताए ।

    विगतमा एउटा शिविरमा ७० देखि एक सय युनिट रगत संकलन हुने गरेकाेमा हाल ३० देखि ५० युनिट मात्र संकलन हुने गरेको छ ।

    पौडेलका अनुसार कतिपय शिविरमा १०/१५ युनिट मात्रै रगत संकलन हुने गर्दछ । कुनै दिन चार वटा शिविरबाट रगत संकलन गर्दा समेत एक सय युनिट पुर्‍याउन मुस्किल हुने पौडेलको भनाइ छ ।

    ‘एक वर्षमा तीन सयसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने गरेको छ । दश जोड दुई पढेर अध्ययनका लागि बाहिर गएको जनशक्ति तथा  रोजगारीका लागि बाहिरिने युवा मुख्य रक्तदाता हुन् ’, पाैडेलले भने ।

    यो जनशक्ति बाहिरिँदा रगतको अभाव भएको हो । यहाँ क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, शल्यक्रियामार्फत् गरिने प्रसूति र अन्य उपचारमा रगत धेरै माग हुने गर्दछ । दैनिक चितवन र छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीका आफन्त रगतको खोजीमा भौतारिन बाध्य छन ।

    क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चैतदेखि साउनसम्म गर्मीको मौसममा रगतको अभाव बढ्ने गरेको छ । दैनिक एक सय ५० युनिटको हाराहारी रगतको माग हुने गर्दछ ।

    यहाँ सञ्चालन हुने शिविरमा ७५ युनिट मात्रै रगत संकलन हुने गरेको छ । बाँकी अपुग रगत बिरामीका आफन्तले आफन्त, इष्टमित्र, छरछिमेकी, स्वयंसेवी रक्तदाता र विगतमा रक्तदान गरेकाहरूको खोजी गरी व्यवस्थापन गर्दै आएका छन ।

    केन्द्रले चितवनसहित छिमेकी जिल्लामा रक्तदान कार्यक्रम गरेर रगत संकलन गर्ने गरेको छ । गत आर्थिक वर्षमा ती जिल्लाबाट मात्रै शिविरमार्फत् तीन हजार युनिट रगत संकलन गरिएको थियो ।

    पोखराबाट प्रशोधन गरिएको दुई हजार पाँच सय युनिट रगत ल्याएर बिरामीलाई चढाइएको थियो । कलेजो प्रत्यारोपण गर्न रगत अभाव भएपछि बिरामीका आफन्तले काठमाडौंबाट दुई सय ५० युनिट रगत यहाँ झिकाएका थिए ।

    रगत संकलनका लागि चितवनबाट सर्लाहीसम्म पुग्नु परेको सभापति पौडेलको भनाइ छ । उनले व्यापकरूपमा रक्तदानसम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको समेत बताए।

    खेर जाने रगतले कसैको ज्यान बच्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा वार्षिक ५० हजार युनिट हाराहारी रगतको माग हुने गरेकोमा ६० प्रतिशत मात्रै संकलन हुने गरेको पौडेलले जानकारी दिए ।

    उनका अनुसार रक्तदातालाई उत्प्रेरित गर्न स्थानीय तहले रक्तदान कार्यक्रममा सहयोग गर्दै आएका छन । जिल्लामा संघीयस्तरको दुई ठूला अस्पताल, दुई मेडिकल कलेज, २० निजी अस्पताल सञ्चालनमा छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij