Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

प्रदेश १ मा छायांकन गरिने चलचित्रलाई आर्थिक सहायता दिन सरकारसमक्ष माग

प्रदेश १ मा छायांकन गरिने चलचित्रलाई आर्थिक सहायता दिन सरकारसमक्ष माग

  • 275
    SHARES
  • प्रदेश १ मा छायांकन गरिने चलचित्रलाई आर्थिक सहायता दिन सरकारसमक्ष माग

    काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले प्रदेशभर छायांकन गर्न आउने चलचित्रलाई सहयोगस्वरूप पाँच लाख रूपैयाँ उपलब्ध गराउन माग गरेको छ । २४ जेठमा बस्न लागेको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट अधिवेशन बस्ने तय भएसँगै चलचित्रकर्मीहरूले यस्तो माग गरेका हुन् । 

    वैशाख १५ गते महासंघ प्रदेश १ ले आफ्ना १५ वटा संस्थासँग छलफल गरी प्रदेश १ सरकारसमक्ष ‘चलचित्र पर्यटन क्षेत्रको रूपमा प्रदेश नं १, वार्षिक कार्ययोजना प्रस्तावनापत्र’ बुझाएको महासंघका वरिष्ठ सल्लाहकार तथा थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । 

    प्रदेश १ सरकारले आर्थिक वर्ष ०७६/७७ मा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गर्ने भन्दै करिब २५ लाख बजेट छुट्याए पनि धरान उपमहानगरपालिका मेयर पदको उपनिर्वाचनमा जारी गरिएको आचारसंहिताका कारण रोकिँदा सो बजेट खर्च हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्षमा भने आफूहरूले पेश गरेको योजनाअनुसार काम हुनुपर्ने महासंघ प्रतिनिधि सन्तोष सरकारले बताए । 

    प्रदेश १ सरकारका मुख्यमन्त्रीसहित मन्त्रालयका नीति निर्माताहरू चलचित्र मर्मज्ञ नभएकाले चलचित्रसम्बन्धी सल्लाह-सुझाव चलचित्रकर्मीहरूले नै दिनुपर्ने बुझेर सुझावसहितको प्रस्तवनापत्र बुझाएको चलचित्र निर्देशक समाजका सचिव विनोद पुडासैनीले भने । 

    ‘प्रदेश १ मा हुने चलचित्रसम्बन्धी गतिविधिलाई हामीले प्रस्तुत गरेको प्रस्तवनाअनुसार नै कार्ययोजना बनाई अघी बढेमा प्रदेशमा भएका सम्पूर्ण चलचित्रकर्मीहरूलाई सहभागी गराउँदै सिंगो प्रदेशलाई नै चलचित्रमय बनाउन सकिन्छ,’ महासंघका महासचिव दिनेश कोइरालाले भने, ‘चलचित्रक्षेत्रको नाममा प्रदेश १ मा १ करोड बजेट छुट्टिने गरेको छ तर अहिलेसम्मको गतिविधि र उपलब्धी हेर्दा शून्यप्रायः देखिन्छ गत आर्थिकवर्ष ०७६/७७ मा प्रदेश १ सरकारले आफैंले आयोजना गरेको चलचित्र महोत्सव गर्न नसक्नु, आर्थिकवर्ष ०७७/७८ मा प्रदेश १ सरकारले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ सँग सहकार्य गर्दै आयोजना गर्ने भनिएको चलचित्र महोत्सव कोभिडको दोश्रो लहरले गर्दा स्थगित हुनु । यिनै विविध कारणले गर्दा प्रदेश १ मा चलचित्रको गतिविधी शुन्य देखिन्छ ।’

    आगामी आर्थिक वर्षमा एक करोड बजेट एउटै चलचित्र महोत्सवका लागि खर्च गर्न नहुने बरु सो बजेटले सम्पूर्ण प्रदेश १ लाई नै चलचित्रमय बनाउनका लागि सबैले हातेमालो गर्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology