वेबटिभी खबर
कैलाली । कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्यांकर मलमूत्र पुर्याइएको छ ।
२०७८ मा सुरु भएको केन्द्रमा एक वर्षमा उक्त परिमाणमा मलमूत्र व्यवस्थापनलाई ल्याइएपछि एकपटक पनि प्रशोधन गरिएको छैन । प्रशोधन प्रक्रिया सुरु हुन आवश्यक मलमूत्र नआएपछि प्रशोधन प्रक्रियाबाट मलमूत्र छान्ने काम अलपत्र परेको हो ।
केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी संकलक ट्यांकर चालकसँग छलफल थालेका छन । सञ्चालन भएको दुई वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नुपर्ने शर्त छ ।
तर, सञ्चालन भएर नगरपालिकालाई हस्तान्तरण गर्ने अवधि बाँकी रहँदा केन्द्र सञ्चालन हुन नसकेपछि चिन्ताको विषय भएको छ । केन्द्र सञ्चालन गर्न आवश्यक मलमूत्र अभावकै कारण प्रशोधन प्रक्रियामा कहाँ कहाँ कमजोरी छ भनेर हेर्न नपाएको परामर्शदाताको भनाइ छ ।
मलमूत्रको अभावले प्रशोधन गर्ने प्रक्रिया नै सुरु नभएको साना शहरी खानेपानी आयोजनाका इन्जिनियर पारसमणि भट्टले बताए । ‘मलमूत्र अभावले केन्द्र सञ्चालन नभएको हो’, इन्जिनियर भट्टले भने, ‘प्रशोधन केन्द्र सञ्चालन हुन दैनिक नौ घनमिटर मलमूत्र भएपछि मात्र सिस्टम चल्छ ।’
एउटा ट्यांकरमा तीन घनमिटरसम्म मलमूत्र हुन्छ । दैनिक सञ्चालनलाई तीन ट्यांकर मलमूत्र आवश्यक रहेको उनको भनाइ छ । ‘केन्द्र सञ्चालनलाई योजना बनाएर टीकापुर मात्र नभई अन्य पालिकाबाट पनि मलमूत्र ल्याउन आवश्यक छ ।’ इन्जिनियर भट्टले भने ।
उनले परामर्शदाताले सञ्चालनको पहल गरिरहेको बताए । नगरपालिकाले एउटा शौचालयको मलमूत्र संकलन गर्न दुई हजार पाँच सय शुल्क लिन्छ भने निजी ट्यांकरले पनि सोही शुल्कमा संकलन गर्छ ।
टीकापुर नगरपालिकामा शुल्क तिरेको आधारलाई मान्ने हो भने वर्षमा ७७ ट्यांकर मलमूत्र केन्द्रमा पुग्नुपर्ने हो । नगरपालिकाको एउटा र दुई निजी ट्यांकरले मलमूत्र संकलन गर्छन् ।
कैलाली जिल्ला खुलादिसा मुक्त क्षेत्र भएपनि संकलन भएको मलमूत्र मेसिनको सहयोगमा ट्यांकरले खुल्ला क्षेत्रमा फाल्छन् । मलमूत्र फाल्दा घरधनीबाट खुला क्षेत्रमा फाल्नुपर्छ भन्दै थप शुल्क लिने गरेका छन ।
‘वर्षभरिमा नगरपालिकाको ट्यांकरले ७७ घरको शौचालयबाट मलमूत्र संकलन गरेको देखिन्छ भने व्यवस्थापनमा जम्मा ४५ ट्यांकर संकलन भएको देखिन्छ’, मलमूत्र व्यवस्थापनका ल्याब टेक्नेसियन आफन्त चौधरीले भने, ‘संकलन गर्ने ट्यांकरकै कारण र कतिपयले घरधनीले घर नजिकै खुला मलमूत्र फाल्दा व्यवस्थापन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने दिसामुक्त क्षेत्रको अवधारणालाई बेवास्ता गरिँदै आएको छ ।’
समाजसेवी निर्मला कडायतले भनिन्, ‘नगरपालिका र यस क्षेत्रका अन्य पालिकाले खुला दिसा फाल्नेलाई कारबाही गर्ने नीति नबनाएसम्म करोडौँ लगानीमा बनेको संरचना चल्न सक्दैन । मलमूत्र फाल्दा खुला फाल्ने र घरधनीसँग थप शुल्क लिनेलाई स्थानीय सरकारले कारबाही गर्नुपर्छ ।’
मलमूत्र व्यवस्थापन केन्द्रले दैनिक नौ घनमिटरअर्थात् नौ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सक्छ । पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन भने ९० हजार जनसंख्या छ ।
केन्द्रमा प्रशोधन भएको पानी जमरा कुलामा पठाउने व्यवस्था मिलाइएको छ । शौचालयबाट निकालिएको मलमूत्र आफ्नै बारीभित्रै र खुला क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने समस्या थियो।
अब प्रशोधन गरेर ऊर्जा निस्कनेछ । एकपटक प्रशोधन प्रक्रिया सुरु गरेपछि २६ दिनको प्रक्रिया हुन्छ । पक्रिया पूरा भएपछि मल संकलन हुन्छ । झोल थिगिँदै सफा पानीमा परिणत हुन्छ ।
नगर प्रमुख रामलाल डगौरा थारुले अहिले परामर्शदाताले नै सञ्चालन गरिरहेको मलमूत्र संकलनका लागि पहल भइरहेको बताए । ‘हामीले पटक-पटक छलफल गरेका छौँ, यसलाई व्यवस्थित गरेर सञ्चालनको तयारीमा छौँ, करोडौँको संरचना भएकाले अन्य पालिकासँग समन्वय गरेर व्यवस्थितरूपमा चलाउने तयारीमा छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij