वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैंगिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।
नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन-२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताए ।
उनले भने, ‘शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ ।’
संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै उनले उनीहरुको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गरे ।
उनले भने, ‘संविधानले संसद्मा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । अहिले स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिला छन् । अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी हो ।’
महिलामा सिर्जनात्मक क्षमता बढी हुने उल्लेख गर्दै उनले आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि उनीहरुको सहभागिता बढाउँदै लैजानुपर्नेमा जोड दिए । लैंगिक असमानता हुँदा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा उद्योगी तथा सांसद विनोद चौधरीले विभिन्न राजनीतिक परिवर्तनसँगै महिला सशक्तिकरणको मुद्दा पनि मूल प्रवाहीकरण हुँदै गएको बताए ।
केही अघिसम्म नेपालमा राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती र न्यायपालिका प्रमुखका रूपमा सुशीला कार्कीले काम गरेको स्मरण गर्दै उनले वालमार्ट जस्ता बहुराष्ट्रिय कम्पनीको नेतृत्व महिलाले गरेको उल्लेख गरे ।
महिलाले नेतृत्व गरेका व्यवसायहरु अझ बढी व्यवस्थित हुने पनि सांसद चौधरीको भनाइ छ ।
उनले भने, ‘महिलाले नेतृत्व गरेका संस्थाहरु तुलनात्मक रुपमा बढी सहिष्णु, व्यवस्थित र लक्ष्य केन्द्रित हुने गरेको पाएको छु । महिला नेतृत्वमा पनि अब्बल हुन्छन् भन्ने अनकौँ उदाहरण हामीसँग छन् ।’
धेरै काममा पुरुषभन्दा महिला अघि रहेको उल्लेख गर्दै सांसद चौधरीले यी दुईबीच तुलना गर्न नहुने बताए । पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र, र उद्यम व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दै गएको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पहिले घराशयी कामकाजमा सीमित हुने महिला अहिले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा पुगेको उल्लेख गरे ।
पछिल्ला दिनमा महिला नेतृत्व विकास हुँदै गएको व्यावसायिक जगतमा महिला पनि पुरुष जत्तिकै प्रतिस्पर्धी रहेको उनको भनाइ छ । लैंगिक समानताका क्षेत्रमा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको अग्रवालले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij