वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र, गणतन्त्रमा विरोध गर्ने व्यक्तिको मुख थुन्न नपाइने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गरेका तीनजना युवाको मुख थुनेको र उनीहरूलाई थुनामा परेपछि उनले तत्काल ती युवालाई रिहा गर्नुपर्ने माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै अविलम्ब रिहा गर्न माग गरेका हुन् ।
उनले फेसबुक पेजमा लेखेका छन्, ‘सम्माननिय पीएमनेपाल लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद् र आपत्तिजनक थियो । आफूविरूद्ध नाराबाजी गरेका युवालाई तत्काल रिहा गर्न माग गर्दै उनले लेखेका छन् । आफूविरूद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’
७ चैतमा थापागाउँमा आयोजित ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रममा प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका युवा अहिले थुनामा छन् ।
बैंकको चर्को ब्याजललगायतका विषयमा नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई मुखख थुन्दै प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।
१२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तोकेको ५ हजार धरौटी नबुझाएका कारण उनीहरू जेल चलान भएका छन् । यसपछि महामन्त्री शर्माले उनीहरूको रिहाका लागि माग गर्दै लोकतन्त्रमा विरोधीको मुख थुन्न नपाइने बताएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij