Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

पदमार्ग बनेपछि ढोलठानको स्वरुप फेरियो

पदमार्ग बनेपछि ढोलठानको स्वरुप फेरियो

  • 239
    SHARES
  • पदमार्ग बनेपछि ढोलठानको स्वरुप फेरियो

    म्याग्दी । कुनैबेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुरातात्विक महत्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न थालेको छ ।

    images

    तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मीयामको राजधानी भएको ढोलठान दरबारसम्म पुग्न पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो ।

    म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीको शिरमा अवस्थित उक्त दरबारसम्म वडाकार्यालयको लगानीमा सडक स्तरोन्नतिका साथै पदमार्ग र प्रतिक्षालय निर्माण गरिएको छ ।

    समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको दरबार संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलको रुपमा विकास गर्न वडा कार्यालयले पूर्वाधार निर्माणमा जोड दिएको वडा नं-९ का वडाध्यक्ष चक्रबहादुर केसीले बताए ।

    केसीका अनुसार चमच्चा डिलदेखि ढोलठासम्म करिब छ सय मिटर पदमार्ग निर्माण गरिएकाले स्थानीयवासीलाई समेत आवातजावत गर्न सहज भएको छ ।

    गत आर्थिक वर्षमा वडा कार्यालयले सडक स्तरोन्नतिका लागि नौ लाख, पदमार्ग निर्माण लागि चार लाख र प्रतिक्षालय बनाउन दुई लाख गरी १५ लाख उपलब्ध गराएकाले पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष केसीले जानकारी दिए ।

    ‘कहिले राजा ढोलठाना, कहिले राजा बेनीमा’ यो लोककथन अझै पनि उत्तिकै प्रचलित छ । बाइसी र चौबिसी राज्यकालमा चौबिसी राज्यअन्तर्गतको ‘मलेबम प्रदेश’का नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक, सामरिक र पर्यटकीय दृिष्टले पनि उत्तिकै महत्वपूर्ण रहेको पुलाचौरस्थित जनकल्याण माविका शिक्षक शिव बानियाँले बताए ।

    २०७७ को मदन पुरस्कार प्राप्त गर्न सफल साहित्यकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘महारानी’ उपन्यास तत्कालीन राजधानी ढोलठान र बेनीलाई नै आधार बनाएर लेखिएको हो ।

    उक्त उपन्यास प्रकाशित भएपछि यस ठाउँको बारेमा जानकारी लिने र चासो राख्ने बढेको वडाध्यक्ष केसीले बताए । यहाँ तत्कालीन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारसमेत छन ।

    यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरीसहित दर्जनौँ हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका दर्जनौँ गाउँ देख्न  सकिने स्थानीय राजन चोखालले जानकारी दिए ।

    समथर भाग, शिरशिर चल्ने चिसो हावा, तत्कालीन रानी बसेर ऐना हेर्दै कपाल कोर्ने  स्थान (थुम्को), र एतिहासिक मन्दिरको भग्नावशेषसमेत रहेकाले अवलोकनका लागि यहाँ आउने पर्यटक रमाउने गरेका छन ।

    पर्यटकले उक्त दरबार अवलोकनसँगै स्थानीय प्राङ्गारिक खाना, विभिन्न जातजातिको कला-सँस्कृति रैथाने जीवनशैलीसमेत  अवलोकन गर्न पाउने पत्रकार प्रताप बानियाँले बताए। म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology