चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं-२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर-१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला अदालत चितवनका प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत न्यौपानेले भने, ‘२० गते मनोनयन दर्ताका लागि समय तोकिएको छ भने २३ गते मनोनयन दर्ता टुंग्याएर वैशाख १० गते उपनिर्वाचन हुनेछ ।’ न्यौपानेले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले चितवन क्षेत्र नं-२ मा चार सय ८० नयाँ मतदाता थपिएको जानकारी दिए ।
‘गएको निर्वाचनमा एक लाख २४ हजार दुई सय १५ मतदाता थिए, अहिले चार सय ८० जना थिपिएका छन्’, उनले भने । निर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology