वेबटिभी खबर
म्याग्दी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन ।
महासंघमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहजरूपमा पाठ्यपुस्तक उपलब्ध गराउन बिक्री केन्द्र स्थापना एकद्धारमार्फत बिक्री वितरण गर्न थालिएको महासंघका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।
जिल्ला अध्यक्ष पौडेलका अनुसार गत वर्ष पुस्तक बिक्री भएको तथ्यांकका आधारमा आगामी शैक्षिक सत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मका लागि १४ हजार छ सय ७० विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याइएको छ ।
जिल्लामा कक्षा ७ को सामाजिकबाहेक अन्य अधिकांश कक्षाका पूरा सेट पाठ्यपुस्तक बेनीमा ल्याइसकिएको छ । अपुग पाठ्यपुस्तकसमेत केही दिनमै बेनी आइपुग्ने महासंघले जनाएको छ ।
जिल्लामा नौ वर्षदेखि व्यवसायीले सामूहिकरूपमा बिक्री केन्द्र स्थापना गरेर सरकारी पाठ्यपुस्तक बिक्री गर्दै आएका छन ।
सबै व्यवसायीको अपनत्वमा सामुदायिक विद्यालयलाई सहजरूपमा समयमै पुस्तक उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र सञ्चालन गर्ने गरिएको महासंघका पूर्वअध्यक्ष रहेका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले बताए ।
उनले गण्डकी प्रदेशमा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गर्ने प्रबन्ध मिलाइएको जानकारी दिए । यहाँका पुस्तक व्यवसायीले करिब एक करोड शेयर रकम संकलन गरेर सामूहिकरूपमा पाठ्यपुस्तक खरिद गरेर बिक्री केन्द्र सञ्चालन गरेका हुन ।
अहिलेसम्म जिल्लामा ८० प्रतिशत पाठ्यपुस्तक आइपुगेको र आगामी वैशाखभित्रमा सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता जनाएका छन ।
स्थानीय तहको केन्द्रसम्मको ढुवानीसमेत आफैँ गर्ने र विद्यालयसँग आवश्यक समन्वय गरेर सहजरूपमा पुस्तक उपलब्ध गराउने व्यवसायीले बताएका छन । जिल्लामा दुई सय ३३ सामुदायिक विद्यालय सञ्चालनमा छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij