Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाँकेमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

बाँकेमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

  • 219
    SHARES
  • बाँकेमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

    बाँके । बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ ।

    एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ । जिल्लाका १९ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन ।

    जिल्लामा भएका दुर्घटनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी टिपर, म्याजिक, स्कुटर र मोटरसाइकल रहेका छन । तीव्रगतिमा सवारीसाधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारीसाधन चालउने गरेका कारण बढी दुर्घटना भएका हुन ।

    बाँकेका ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले मापसेका कारण दुर्घटना भएका घटना धेरै भएकाले आफ्नो पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताए ।

    ट्राफिक प्रहरी प्रमुख सुनारले संगठनभित्र आर्थिक अनुशासनलाई सुदृढ बनाउने र ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिधैँ आफूलाई जानकारी दिन पनि आग्रह गरे ।

    ट्राफिक प्रहरी प्रमुख सुनारले भने, ‘एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारीसाधन जाँच गर्नुपर्ने अवस्था छ, स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढ्छु ।’

    कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उनले पैदलयात्रु, विद्यार्थी र मजदुरलाई ट्राफिक नियमबारे जनचेतना जगाउन जरूरी रहेको बताए ।

    ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ ।

    ‘यहाँ मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखियो’, सुनारले भने, ‘जसका कारण हुने मानवीय क्षति रोक्न मापसे जाँचलाई कडाइ गरिनेछ ।’ जिल्लाको सबैभन्दा ठूला शहर नेपालगन्ज र कोहलपुर हुन ।

    बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको छ ।

    नेपालगन्जको पुष्पलाल चोक, धम्बोजी, ट्राफिक पोष्ट अगाडि ट्राफिक प्रहरीको उपस्थिति भएपनि मुख्य बजार क्षेत्र त्रिभुवन चोक, त्रिवेणी मोड, भेरी अस्पताल, मालपोत कार्यालय क्षेत्र वरवर भने ट्राफिक प्रहरीको उपस्थिति छैन ।

    जसका कारण त्यस क्षेत्रमा ट्राफिक जामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारीसाधन भाग्नेसमेत गरेका छन ।

    बाँके जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबै निकायको समन्वयमा विशेष रणनीतिका साथ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायको जोड छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij