वेबटिभी खबर
सिन्धुली । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन । कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन ।
दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ । गएराति १२ः३० बजेको समयमा भएको दुर्घटनामा घाइते दुई जनालाई उद्धार गरी आज बिहान उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा ठाकुरको सोही अस्पतालमा मृत्यु भएको उनले बताए ।
उक्त दुर्घटनामा अरु तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ । मृत्यु हुनेमा ४२ वर्षीय राकेशकुमार सिं, ३६ वर्षीय मनु सिं र ३२ गवर सिं रहेका छन ।
सिन्धुली हुँदै काठमाडौंतर्फ जाँदै गरेको विआर ०६ डिडि ०६८७ नंम्बरको भारतीय कार अनियन्त्रित भएर बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-३ सिन्धुलीगढी नजिकै दुर्घटना भएको थियो ।
कार सडकबाट ५०० फिट तल खसेको थियो । अहिले शव घटनास्थलबाट सडकमा निकालेर शवबहानबाट सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको छ । नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शव घटनास्थलबाट निकालेको थियो ।
दुर्घटना भीरमा भएका कारण उद्धार टोलीले कठिन तरिकाले शव निकालेको प्रहरी उपरीक्षक सिलवालले बताए । भीरमा भएको दुर्घटनामा उद्धार गर्न गएका केही प्रहरीसमेत भीरबाट खसेको ढुंगाले लाग्दा सामान्य घाइते भएका थिए । कारमा सवार व्यक्ति धार्मिक यात्राका लागि नेपाल आएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij