वेबटिभी खबर
ओन्टरियो । क्यानडा प्रहरीले आइतबार एक पूर्वनियोजित सवारी आक्रमणबाट मुस्लिम परिवारका चार सदस्य मारिएको बताएको छ । यो आक्रमण ओन्टरियो प्रान्तको सिटी अफ लन्डनमा भएको थियो । यस आक्रमणमा बाँचेका उक्त परिवारका एक ९ वर्षका बालकको गम्भीर अवस्थामा अस्पतालमा उपचार जारी छ ।
आक्रमणमा संलग्न क्यानडाकै २० वर्षीय युवक नथालियन वेल्टम्यानविरुद्ध चार जनाको हत्या एवं एकको हत्या प्रयासको मुद्दा दर्ता गरिएको छ ।
सन् २०१७ मा क्युबेक सिटी मस्जिदमा भएको आक्रमणपछि क्यानडाली मुस्लिमविरुद्ध अहिलेसम्म भएको यो सबैभन्दा घातक आक्रमण हो । त्यस आक्रमणमा ६ जना व्यक्ति मारिएका थिए ।
पीडितहरु मुसलमान भएका कारण लक्षित गरिएको लन्डन प्रहरी सेवाका पल बेटले सोमबार एक प्रेस सम्मेलनमा भने । उनका अनुसार प्रहरीले सम्भवतः आतंकवादको धारा लगाउने बारे विचार गरिरहेको छ र यो पनि घृणा अपराध हेट क्राइम हो भन्ने मानिएको छ ।
मारिनेमा ७४ र ४४ वर्षका दुई महिला, ४६ वर्षका एक पुरुष र १५ वर्षकी एक बालिका रहेकी छन् । प्रहरीले उनीहरुको अन्य विवरण सार्वजनिक गरेको छैन । प्रहरी अधिकारीका अनुसार आइतबार क्यानडाको समयानुसार राति ८ बजेर ४० मिनेट जाँदा एउटा कालो ट्रक सडकको फुटपाथमा उक्लिएको देखिएको थियो ।
एक प्रत्यक्षदर्शीले सिटिभी न्युजसँग आफूले घटनाका पीडितको शव नदेखोस् भनेर सानी छोरीको आँखा बन्द गरिएको बताएकी थिइन् । घटनापछि त्यहाँ मानिसहरु चिच्याउन र भाग्न थालेपछि प्रहरी पुगेको थियो ।
सन् २०१६ को जनगणनाअनुसार लन्डन सहर टोरन्टोको दक्षिण पश्चिमबाट २०० किलोमिटर टाढा छ । त्यस क्षेत्रमा बाहिरबाट आएर बसोबास गरेका मानिसहरु भएकाले त्यहाँ धेरै जातिय विविधता छ । सबैभन्दा ठूलो अल्पसंख्यक समूह अरबीहरु छन्, भने दोस्रो नम्बरमा दक्षिण एशियाली मुलका मानिस छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij