वेबटिभी खबर
चितवन । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन ।
१८ जनालाई कामका लागि निजी क्षेत्रमा पठाइएको छ । पाँच जनाले ‘इन्टन’ गरिरहेका छन । आउँदो वर्षका लागि आठ सय ९० जनाले महानगरको प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिइसकेका छन ।
रोजगार संयोजक सन्देश वाग्लेका अनुसार नगर परिषद्ले यसवर्ष आठ वडा छनोट गरेको थियो । गतवर्ष पाँच सय ९० जनाले आवेदन दिएका थिए । ती वडामा ७४ जनाले रोजगारी पाएको वाग्लेले जानकारी दिए ।
तीमध्ये पाँचवटा वडामा काम भइरहेको छ, भने दुई वटा वडामा कामदार छनोट भएर कामको तयारी भइरहेको छ । यसवर्ष ४४ लाख ८६ हजार मात्रै बजेट प्राप्त भएकाले सबैले रोजगारी नपाएका हुन ।
यस कार्यक्रम अन्तर्गत सार्वजनिकस्थलका रुखमा रङगरोगन गर्ने, कुलो सफा गर्ने, झाडी फाँड्ने, खानेपानी पाइपलाईन विस्तार गर्ने, पार्क, विद्यालय, मन्दिर, ताल सरसफाई गर्ने, गोरेटो बाटो निर्माण गर्ने जस्ता काम भइरहेका छन ।
कामदारले दैनिक छ सय १२ पाउने छन । छनोट भएकालाई एक सय दिन काम उपलब्ध गराइने छ । वडा कार्यालयले कामको छनोट गरी सिफारिस गरे अनुसार काम गराइदै आएको छ ।
ती कामदारलाई बुट, पञ्जा, हेल्मेट, कपडा जस्ता सामग्री महानगरपालिकाले उपलब्ध गराएको छ । वाग्लेले सूचीकृत भएका कामदारलाई सरकारी र निजी क्षेत्रमा कामका लागि पठाउने गरी संयोजनको काम गरिरहेको बताए ।
यस वर्ष हालसम्म १८ जनालाई निजी विद्यालय, क्याम्पस, शैक्षिक परामर्श केन्द्र, अटो पसल, होटल, उद्योग लगायतमा पठाइसकिएको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा सहकार्य गरेर पाँच जनालाई इन्टन गर्न पठाइएको वाग्लेको भनाइ छ ।
उद्योग संघ चितवनसँग सहकार्य गरेर रोजगार पोर्टल सञ्चालन ल्याउन लागिएको छ । यससँगै कामदार र रोजगारदाता कम्पनीलाई एकआपसमा जोडेर रोजगार दिइने छ । यसै कार्यालयले श्रम स्वीकृतिको कामसमेत गरेको छ ।
२०७५ बाट यो कार्यक्रम सुरु भएको हो । गत वर्ष ८५ जनालाई रोजगारी दिइएको थियो । महानगर प्रमुख रेनु दाहालले महानगरभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्ने यो कार्यक्रम पहिलेभन्दा प्रभावकारी हुँदै गएको बताइन् ।
उनले महानगरको सौन्दर्यकरण र विकास निर्माणलाई यस कार्यक्रमसँग जोडेर लैजाने तयारी गरिएको जानकारी दिइन् । स्थानीय समाजसेवी धर्म कार्कीले बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरूले काम पाएसँगै उनीहरूको जीविकोपार्जनमा सहयोग पुगेको बताए ।
देशमै विकासको नमुना काम भइरहेको भरतपुर महानगरका बासिन्दा बेरोजगार हुन नपर्नेगरी महानगरले काम अघि बढाएको जनाउँदै उनले सबैले सहयोग गरेर कार्यक्रम सफल बनाउनु पर्ने जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij