Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नवलपुरकाे नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

नवलपुरकाे नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

  • 308
    SHARES
  • नवलपुरकाे नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै वि.सं २०७६ वैशाख ७ गते शिलान्यास गरिएको थियो ।

    नवलपुरको कावासोती–३, मा रहेको १८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यले शिलान्यास गरिएको हो ।

    आज शिलान्यास भएको चार वर्ष पूरा भएको छ । तर शिलान्यासको चारवर्षमा जिल्लाको नमूना सदरमुकाम बनाउने परियोजनाको नक्सांकनमा बितेको छ ।

    नमूना सदरमुकाम निर्माण स्थलमा बनाउने भनिएका सरकारी कार्यालयका भवनको हालसम्म काम सुरु भएको छैन ।

    नमूना सदरमुकाम स्थल खुला चौरकै रूपमा छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माणको काम हेरिरहेको छ ।

    कार्यालयले यसअघि करिब १० करोडको लागतमा कच्ची बाटो निर्माणको काम गरेको छ । त्यसबाहेक गुरुयोजना परिमार्जन गरि अन्तिम रूप दिनलाई समय बितेको छ ।

    गएको फागुनमा गुरुयोजनालाई अन्तिमरूप दिने भन्दै कार्यालयको रोहबरमा सरोरकारवालाबीचको पाँचौँ बैठक बसेको थियो ।

    गुरुयोजना परिमार्जनकै विषयमा अलमल गर्दै समय बितेको भनेर यहाँका राजनीतिक दलका प्रतिनिधिले गुनासो व्यक्त गरेका छन् । 

    पूर्व सांसद तिलक महतले  भने, ‘नमूना सदरमुकाम जिल्लावासीको सपना हो । यो गौरवपूर्ण आयोजना जतिसक्दो चाँडो बन्नुपर्छ भन्नेमै सबै जनताको माग छ ।’

    देशकै ७७ वटा जिल्ला मध्ये नयाँ जिल्लाका रूपमा विकास हुँदै गरेको नवलपुरको सदरमुकाम सबैले हेर्न लायक बनाउनुपर्ने उनले बताए ।

    अहिले विभिन्न सरकारी कार्यालय साँघुरा भाडाका घरबाट सञ्चालन हुँदा सेवाग्राहीमैत्री नभएकाले जतिसक्दो चाँडो निर्माण स्थलमा आवश्यक कार्यालय स्थापना गरि सेवाग्राही मैत्री तवरले सहजरुपमा सेवा दिने वातावरण बनाउनुपर्ने महतले बताए । 


    निर्माण स्थलमा संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय बनाउने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो ।

    सुरुमा एकीकृतरुपमा एउटै भवनबाट सबैजसो कार्यालयका सेवा प्रदान गर्ने गरी योजना अघि बढाइएको थियो ।

    सेवाग्राहीलाई सेवा लिन सहज हुने धारणाका साथ यस्तो डिजाइन अघि सारिएको भए पनि हाल सेवाका प्रकृति मिल्ने दुई कार्यालय एकै स्थानमा रहने गरी काम अघि बढाउन लागिएको छ । 

    निर्माणको काम हेरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपटबहादुर थापाका अनुसार केही भवन निर्माण गर्ने गरी योजना अघि बढेको छ । 

    केही कार्यालयको नक्साङ्नको काम सकिएको र लागत अनुमानको काम सकिएको कार्यालय प्रमुख थापाले बताए र 

    एकै वर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरुले  बहुवर्षीय योजनामा राख्न आवश्यक प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

    अर्थ मन्त्रालयले बहुवर्षीयका लागि स्विकृत दिने वित्तिकै भवन निर्माणको ठेक्का निकालिने छ । सडक निर्माणमा कुनै समस्या नभएको तर भवनका लागि बहुवर्षीय योजनाका रूपमा अघि बढाउनुपर्ने बताइएको छ ।

    उनले भने, ‘हामी काम गर्न तयार छौँ, बहुवर्षीय योजनाका रुपमा काम गर्न अर्थमन्त्रालयसम्म फाइल पुगेको छ, स्विकृत हुने  वित्तिकै  काम अघि बढाउँछौँ । बहुवर्षीय स्वीकृतको काम नहुँदा अलमल भएको छ ।’

    सदरमुकाम निर्माणस्थलमा संघ र प्रदेश मातहतका जिल्लास्तरका सबै कार्यालय, पुस्तकालय, सभाहल, बैंक, अतिथि, आवास गृह, रंगशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचना निर्माण हुने छन् ।

    यी संरचना निर्माणलाई चार वर्ष पहिले यहाँ रहेको १८७ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ ।

    निर्माणको प्रारम्भिक गुरुयोजनाअनुसार करिब १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij