वेबटिभी खबर
चितवन । चितवन जिल्लाका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । ईच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार ईच्छाकामना-६ मा तीन बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको छ । अन्य पाँच जनाको नमुना परीक्षणका लागि आज हेटौँडा पठाइएको छ ।
बुधबार संक्रमण पुष्टि भएसँगै सो क्षेत्रमा टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । दुई वर्षअघि जिल्लाको पहाडी क्षेत्रमा दादुरा देखिएको थियो।
यो सरुवा रोग हो । रोग नियन्त्रणका लागि जन्मिएको नौ महिना र १५ महिनामा गरी दुई पटक बालबालिकालाई खोप लगाउने गरिन्छ । उक्त क्षेत्रमा खोप लगाउन छुटेको हो कि भनेर अध्ययन समेत गरिएको चापागाईंले बताए ।
कार्यालयले सरुवा रोग भएकाले संक्रमण भएकाहरूलाई छुट्टै (आइसेलेशनमा) राख्न र खोप लगाउन छुटेको भए खोप लगाउन अनुरोध गरेको छ । संक्रमण देखिएकालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए ।
यसैगरी जिल्लाको खैरहनी-११ मा ठेउलाको संक्रमण देखिएको छ । संक्रमण देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले जनचेतना अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेका अनुसार गत चैत मसान्तसम्म उक्त वडाका ३३ जनामा ठेउला देखिएको छ । यसअघि स्वास्थ्य केन्द्रबाट जनचेतना जगाउने कार्य हुँदै आएकोमा बुधबारदेखि स्वास्थ्य शाखाले नै टोलटोलमा पुगेर जनचेतना जगाउने काम गरिरहेको छ ।
घिमिरेका अनुसार संक्रमण कसरी फैलिन्छ र कसरी सावधानी अपनाउने भन्ने बारेमा जनचेतना जगाइएको छ । वन नजिकको पिछडिएको क्षेत्रमा बढी मात्रामा संक्रमण देखिएको बताउँदै उनले उपचारसँगसँगै जनचेतना जगाउने काम भइरहेको जानकारी दिइन् ।
बालबालिकामा बढी मात्रामा ठेउला देखिएको भन्दै २५ वर्षीया सुत्केरीमासमेत संक्रमण देखिएको घिमिरेकाले बताइन् । घिमिरेले भनिन्, ‘यसको ठ्याक्कै उपचार हुँदैन, आउँछ, हप्ता १० दिन सताउँछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij