वेबटिभी खबर
स्याङ्जा । सुक्खायाम सुरू भएसँगै स्याङ्जाका वनहरूमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन ।
जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्यांक डिभिजन वन कार्यालयसँग छ । अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ ।
वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला/फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरूवा/हरिनासका पाँच, गल्याङ/कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए ।
११ वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक/एक सब डिभिजन रहेका छन ।
आँधीखोला र फेदीखोला, बिरूवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक/एकवटा सब डिभिजन रहेका छन । वन अधिकृत बल्छौडीका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन ।
कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरूको जोखिम मूल्यांकन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा छन ।
वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरूवा/हरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङ/कालीगण्डकीका १०, आँधीखोला/फेदीखोलाका आठ गरी कूल एक सय २८ वन जोखिममा परेका छन ।
तीमध्ये झन्डै आधा वनमा डढेलो लागिसकेको छ । बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीँले बताए ।
‘डढेलो लाग्न सक्ने सम्भावित जोखिमका वन क्षेत्रहरू पहिचान गरी सरोकारवालाहरूबीच चेतनामूलक कार्यक्रम गरेका थियौँ’, वन अधिकृत गल्छौडीँले भने,‘सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोका कारण वनजंगल, वन्यजन्तु र जडीबुटी साथै पानीका स्रोतहरूमा पनि असर पारेको छ ।’
डढेलोको सम्भावित जोखिम भएका ठाउँहरूमा समन्वयात्मक कार्यक्रमहरू, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई उपकरणहरू उपलब्ध गराइएको डिभिजन वन अधिकृत गल्छौडीले जानकारी दिए ।
वनमा जानीजानी वा दुर्घटनाका कारणले डढेलो लाग्ने गरेको छ । देशैभरि झन्डै ६४ प्रतिशत आगलागी जानीजानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उनको भनाइ छ ।
वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ ।
जंगली जनावरहरू बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सीलगायत जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ ।
जंगलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरू पोलिएर जिल्लाका धेरै बस्तीहरूमा खानेपानीको हाहाकार भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij