वेबटिभी खबर
झापा । कमल गाउँपालिका-५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ ।
दर्जनौँ समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र गृलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताए ।
उनले किराँत समुदायको आस्थाको धरोहरको रूपमा रहेका समाधिस्थलको सुरक्षा गरिदिन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको जानकारी दिए ।
उनले स्थानीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने बताउँदै भने, ‘समाधिस्थलका गृहहरू यसरी काटेर लैजाने घटना नयाँ समस्याका रूपमा देखापर्यो । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित पक्षहरूले बेलैमा ध्यान दिऔँ ।’
पितृ पुर्खालाई समाधिस्थल गरिएको स्थानमा राति-राति तोडफोड गर्ने र फलामजन्य वस्तुहरू चोरेर लैजाने गिरोह सक्रिय भएको पाइएको जनाउँदै उनले यस्तो गलत कार्य गरिरहेकालाई नियन्त्रणमा लिएर कारबाही गरिनुपर्ने माग गरे ।
रतुवामाई वृक्षरोपण आयोजनाको पश्चिम कुनामा रहेको गेउरिया समाधिस्थल झापामा सबैभन्दा ठूलो मानिन्छ । यहाँ हजारौं व्यक्तिको समाधि छ ।
किराँतीहरूले आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा जंगल वा खोला किनारमा लगेर माटोमा समाधिस्थ गर्ने परम्परा छ ।
गेउरियामा करिब डेढ बिघा क्षेत्रफलमा राई, लिम्बू, गुरुङ, शेर्पा, मगरलगायतको समाधि राखिँदै आएको छ ।
समाधिस्थलमा कंटको चिटिक्क परेका साना साना घर निर्माण हुने गरेका छन् । एकै ठाउँमा हजारौँ समाधि रहेकाले त्यो जंगल क्षेत्र समाधि बस्ती जस्तै बनेको छ ।
कमल-५ का वडाध्यक्ष लालबाबु बिष्टले समाधि गृहबाट सामान चोरी भएको कुनै जानकारी नआएको बताए ।
समाधिस्थललाई व्यवस्थित र सुरक्षित गर्नका लागि निश्चित क्षेत्रमा तारको घेराबेरा गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिसक्ने उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij