वेबटिभी खबर
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ ।
भारतमा औलो संक्रमण भएर आउने बिरामीको संख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय संक्रमणभन्दा आयातीत औलो संक्रमित बिरामी बढिरहेको बताए ।
‘यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा संक्रमित भएर आउनेको संख्या बढी छ’, स्वास्थ्य कार्यालय प्रमुख पन्तले भने, ‘पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको संक्रमण कम भएपनि जोखिम कायमै छ ।’
उनले २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको जानकारी दिए । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १६ जना औलो संक्रमित थिए भने ३१ जना भारतबाट संक्रमण भएर आएका थिए ।
आव २०७८/७९ मा संक्रमित घटेर छ मा पुगेपनि आयातीत संक्रमितको संख्या ३० थियो । चालु आवको हालसम्ममा संक्रमित पाँचजना छन् भने भारतबाट संक्रमित भएर आएका १७ जना संक्रमित छन ।
भारतसँगको खुला सिमानाका कारण आयातीत औलो संक्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए ।
जिल्लामा औलोको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका-१ र कृष्णपुर नगरपालिका-५ लगायतका क्षेत्रमा विषादी छर्किएको छ । ‘मध्यम जोखिम भएका क्षेत्रमा झूल वितरण गरेका छौँ’, भट्टले भने, ‘सरकारको योजनाअनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’
भट्टले जिल्लामा भारत तथा अन्य ठाउँबाट आउने बढीजसो संक्रमण देखिने गरेको बताए । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्ने बताए ।
‘औलोबाट बच्न सरसफाईमा विशेष ध्यान दिनुपर्छ र घर वरपरका खाल्डाखुल्डी पुर्ने औलो उन्मूलनका उपाय हुन्’, डा.भट्टले भने, ‘महाकाली अस्पतालमा आउने औलो संक्रमितलाई निःशुल्क उपचार गराइराखेका छौँ ।’
कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका हुन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij