Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मह बिक्री नभएपछि चिन्तामा किसान

मह बिक्री नभएपछि चिन्तामा किसान

  • 231
    SHARES
  • मह बिक्री नभएपछि चिन्तामा किसान

    दाङ । तुलसीपुर उपमहानगरपालिका-६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गरेको दुई टन मह बिक्री भएको छैन ।

    उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । त्यस्तै तुलसीपुर-१५ का किसान आशिष अधिकारीले उत्पादन गरेको छ टन मह मध्ये साढे दुई टन मात्रै बिक्री गरेका छन् ।

    उनले भने, ‘साढे तीन टन मह थन्काएर राखेको छु ।’

    उनीहरू त उदाहरण मात्रै हुन् । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महल बजार पाउन छाडेको छ । भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ ।

    शर्माले भने, ‘बिना भन्सार भारतबाट मह आउँछ । भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन ।’

    विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् ।

    कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ ।

    उनले भने, ‘यो पेसाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो । तर अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ ।’

    बिक्री नभए पनि एक वर्षसम्म राख्न सकिन्छ । तर त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ । भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किक्ने गरेको किसानको गुनासो छ । 

    जिल्लामा हाल पाँच सय हाराहारीमा मौरी पालक किसान छन् । किसानको संख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताए ।

    दाङमा मात्रै करिब २०० टनभन्दा बढी मह बिक्री नभएको उनले बताए ।

    उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए ।

    उनले भने, ‘जडीबुटी, चरण क्षेत्रमा उत्पादन भएको महले बजार पाउन सकेको छैन । भारतबाट आएको मह सस्तो पनि पाउने र नजम्ने भएकाले पनि उपभोक्तालाई त्यसलाई नै मन पराउने गर्नुहुन्छ, तर, यहाँ उत्पादन भएको गुणस्तर मह किन्नुहुन्न, त्यसले गर्दा पनि समस्या बनाएको छ ।’

    मह बिक्री नभएपछि किसान समस्यामा परेका छन् । जिल्लाका किसानले मौरी चराउनका लागि बर्दिया, कैलाली लैजाने गर्थे ।

    मह बिक्री नहुने भएपछि खर्च कटौती गर्दै यस वर्ष बाहिर नलगेको किसान शर्माले बताए । किसानको यही कारणले यस वर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ ।

    यस वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब ४५० टन मह उत्पादन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij