वेबटिभी खबर
महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझारूपमा अघि बढ्नुपर्ने बताएका छन ।
परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताएका हुन ।
‘विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ’, मन्त्री साउँदले भने, ‘अहिले दश पार्टी मिलेर सरकार बनाएकाँ छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हुँदैन ।’
उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको बताए । ‘सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ’, मन्त्री साउँदले भने, ‘यो अस्पताल प्रतिष्ठान मात्र नभई यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।’
उनले निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माण लगायतका काममा आफू सक्रिय भएर लागेको जानकारी दिए । साथै सुदूरपश्चिमको धार्मिक पर्यटनको विकासका लागि एउटा सर्किट निर्माणको गृहकार्य भइरहेको उनको भनाइ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij