Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दगाममा उत्पादित मह विदेश निर्यात, कृषक उत्साहित

दगाममा उत्पादित मह विदेश निर्यात, कृषक उत्साहित

  • 266
    SHARES
  • दगाममा उत्पादित मह विदेश निर्यात, कृषक उत्साहित

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ ।

    यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका हुन । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिए ।

    उनका अनुसार ती देशमा बढीमा तीन हजार किलोसम्म मह बिक्री हुँदै आएको छ । विदेशमा प्रतिकिलो दुई हजार पाँच सयमा मह बिक्री हुने गरेको थापाको भनाइ छ ।

    ‘पछिल्लो केही समय यता वातावरणमा आएको प्रदूषणका कारण मह उत्पादनमा पनि कमी आएको छ, तर धेरै बिक्री भएको बेला तीन हजार किलोसम्म बिक्री भइराखेको छ’, सचिव थापाले भने, ‘यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ ।’

    विदेशमा मह बिक्री हुन थालेपछि कृषक उत्साहित भएको उनले बताए । समूहमा ४१ घरधुरीका कृषक आबद्ध छन । सबै घरधुरीले मौरीपालन गरिरहेका छन । थोरैमा दुई घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ ।

    ‘यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन्’, सचिव थापाले भने, ‘मौरीपालनबाट कृषक सन्तुष्ट छन् ।’ यहाँका कृषकले सिजनमा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन । मह उत्पादनका तीन सिजन उपयुक्त मानिन्छ ।

    ‘बढीमा प्रति घार ३० किलोसम्म पनि बिक्री हुँदै आएको छ’, सचिव थापाले भने । कृषक समूहमा उत्पादित मह आफूहरूले संकलन गरेर काठमाडौँका व्यापारीमार्फत विदेश पठाउने गरेको थापाको भनाइ छ ।

    नेपालमा भने प्रतिकिलो एक हजार पाँच सयमा मह बिक्री हुँदै आएको छ । दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको हो ।

    एक हजारदेखि एक हजार तीन सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उनको भनाइ छ ।

    उनले भने ‘चारैतिर खुलेको डाँडा र जंगल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ । ’ तर पछिल्लो समय वनमा लाग्ने डढेलो र प्रदूषणका कारण मह उत्पादनमा कमी आउन थालेको कृषकको गुनासो छ।

    ‘मह उत्पादनका लागि सफा र स्वच्छ वातावरण चाहिन्छ, तर केही समययता डढेलोको प्रकोप बढेका कारण मह उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित छन्’, समूहका अध्यक्ष कमला थापाले भने ।

    उनका अनुसार वातावरणमा भर पर्नुपर्दा कहिलेकाँही मागअनुसारको मह उत्पादन गर्न गाह्रो भइरहेको छ । कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका-१ र २ लाई मौरीपालनको ब्लककोरूपमा विकास गरेको छ ।

    कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ । एक हजार एक सय ३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताए ।

    शुक्लागण्डकी नगरपालिका १ र २ मा मौरीपालन कृषकको संख्या दुई सय २० छन । सबै कृषकले मौरी पालेर मह उत्पादन गर्दै आएका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij