वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।
१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले यहाँ आयोजना गरेको कार्यक्रममा उनले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताए ।
हिजो कौडीका मूल्यमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उनको भनाइ छ ।
उनले भने, ‘निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरेर सुरक्षा गर्नुपर्दछ । निजी क्षेत्रलाई सहुलियत दिनुपर्दछ ।’ उद्योग बन्द गराउने काम हुनुहुँदैनथ्यो । हिजो भए । अहिले पनि बन्द गराउन खोजिरहेका छन्, रोक्नुपर्दछ ।’
उनले वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा त्यहाँका श्रम कानुन, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने धारण व्यक्त गरे ।
अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताए ।
‘समान काम गर्दा समान ज्याला र सुविधा हुनुपर्दछ । हाम्रा वैदेशिक रोजगारमा गएका श्रमिकले पनि त्यहाँका श्रम कानुन, त्यहाँका मजदुरलाई दिएको सुविधा कम नहुने गरि पाउनुपर्दछ । हाम्रा देशबाट गएका मजदुर पनि विदेशमा योगदानका आधारमा पेन्सनमा पाउनुपर्दछ, होइन भने उमेर छउन्जेल विदेशमा काम गरेर आउँछ अनि केही नपाउने स्थिति आउँछ ।’
उनले देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारणा व्यक्त गरे । कुनै पनि भुलभुलैयामा नपरी सचेत, अनुशासित, गतिशील युवाले मुलुक बनाउनुपर्ने उनको भनाइ छ ।
‘भ्रम, भावनाबाट देश बन्दैन । हामीले योजनाबद्ध ढङ्गले सही नीतिका साथ देशलाई अगाडि बढाउनुपर्दछ ।’
अध्यक्ष ओलीले श्रमिक, किसान, मजदुर, चिकित्सक, प्राध्यापक, इन्जिनियर भएपनि देश कहिले अगाडि र कहिले पछाडि सर्ने गरेको बताए ।
प्रजातन्त्र, सामाजिक समानता, लैंगिक समानता, शोषणको अन्त्य, थिचोमिचो र दमनको अन्त्य, समान कामको समान ज्याला, आठ घन्टा काम आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम आदि कुराको सुधार श्रमिकको संंघर्षबाट प्राप्त गरेको उनको भनाइ छ।
उनले मजदुर र जनताको हित गर्ने प्रणााली समाजवादी प्रणालीमात्र भएको भन्दै नेपाली जनताको भलाइ समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा भएपछि सबै जनताले समृद्धिको प्रतिफल प्राप्त गर्ने बताए ।
टूेड युयिनयन आन्दोलनलाई कमजोर पारेर पूँजीपति वर्गले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले आफू पूँजीवादको विरोधी भएपनि पूँजीको विरोधी नभएको स्पष्ट पारे ।
उनले भने, ‘हामी पूँजीवाद विरोधी त हौँ । तर पूँजी विरोधी होइनौँ । मानिस पूँजी (धनी) हुनपर्दछ तर पूँजीवाद भनेको शोषणवाद हो, पूँजी हुनुपर्दछ भनेको समृद्ध हुनुपर्दछ भनेको हो ।’
उनले आफू शोषणकारी पूँजीवादको पक्षमा नभई राष्ट्रिय पूँजीवादको पक्षमा रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij