वेबटिभी खबर
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँमै प्रयोगशाला सेवा सञ्चालन आएको छ ।
केही वर्षअघिसम्म जिल्ला अस्पतालमा आउँदासमेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक पुग्नुपर्ने अवस्था थियो । तर अहिले फक्ताङलुङ गाउँपालिका-३ सिंवामा रहेको स्वास्थ्यचौकीमा एक्सरे र प्रयोगशाला सेवा सुरुआत भएको छ ।
ग्रामीण क्षेत्रका गर्भवतीलाई गाउँमै भिडिओ एक्स-रे र प्रयोगशालासेवा दिनका लागि गाउँमै प्रयोगशाला सेवा सुरु भएको छ ।
सदरमुकामका अस्पतालम्म आउनुपर्ने ग्रामीण क्षेत्रका गर्भवतीको स्वास्थ्य परीक्षण र प्रयोगशालासम्बन्धी सेवा सहज गराउने उद्देश्यले सिंवा बजारमा अवस्थित स्वास्थ्यचौकीमा आइतबारदेखि भिडियो एक्सरे र प्रयोगशाला सेवा सञ्चालनमा आएको फक्ताक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए ।
एक्सरे र प्रयोगशाला नहुँदा गर्भवतीले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने र अन्यत्र जाँदा हजारौँ रकम खर्च गर्नुपर्ने समस्या आएपछि गाउँपालिकाले गाउँमै भिडियो एक्सरे र प्रयोगशाला सेवा दिने अभियान सुरुआत गरेको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।
फक्ताङलुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठूलो गाउँपालिका पर्दछ । यस गाउँपालिकामा सात वडा छन ।
सेंवा बजारमा प्रयोगशाला सेवा सुरुआत भएसँगै गाउँपालिका-१ सवादिन, वडा नं २ खेजिनेम, मामाङ्खे, चाकु र वडा नं ३ सेवा बजार, लिङखिम, तावा, थिवा क्षेत्रका नगरिकले सहजरूपमा सेवा लिन पाउने भएको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
ती गाउँवासीले अब भिडिओ एक्सरे र प्रयोगशालाकै लागि मात्र सदरमुकाम तथा अन्य सहरका निजी क्लिनिक र अस्पताल धाउनुपर्ने बाध्यता हटेको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए ।
गर्भपरीक्षण र ल्याब सेवा नहुँदा गाउँमा प्रसूति केन्द्र भएर पनि विश्वास थिएन’, प्रमुख भट्टराईले भने, ‘सेवा सुरु भएपछि बिरामीले विश्वास गर्ने वातावरण बनेको छ ।’ यसका लागि १० लाख लगानी भएको छ ।
गत आइतबार सिंवा बजारमा प्रयोगशाला सेवा सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिकाका नागरिकले दुई ठाउँबाट प्रयोगशाला र फार्मेसी सेवा सहजरूपमा पाउने भएको गाउँपालिकाले जनाएको छ ।
फक्तालुङ-५ तापेथोक स्वास्थ्यचौकीमा विगत चार वर्षदेखि नै प्रयोगशाला सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ । तापेथोक स्वास्थ्यचौकीमा चिकित्सक साताको चार दिन र सेवा बजारमा रहेको स्वास्थ्यचौकीमा साताको दुइ दिन प्रत्यक्ष बिरामीको स्वास्थ्य परीक्षण तथा परार्मश सेवा उपलब्ध गराउने स्वास्थ्य शाखाले जनाएको छ ।
सरकारले निःशुल्क उपलब्ध गराएको औषधीबाहेक अन्य औषधी सहजरूपमा उपलब्ध गराउनका लागि तापेथोक स्वास्थ्यचौकी र सेवा स्वास्थ्यचौकीमा गाउँपालिकाले फार्मेसी सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले जानकारी दिए ।
फार्मेसी सेवा सञ्चालन गर्नका लागि गाउँपालिका मूलपुँजी नमासिने गरी कोष स्थापना गरेर औषधि खरिद गर्दै आएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । फक्ताङलुङ गाउँपालिकामा सातवटा स्वास्थ्यचौकी र १४ स्वास्थ्य एकाइ सञ्चालनमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij