Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आम्दानीको राम्रो स्रोत बन्दै गुच्ची च्याउ 

आम्दानीको राम्रो स्रोत बन्दै गुच्ची च्याउ 

  • 535
    SHARES
  • आम्दानीको राम्रो स्रोत बन्दै गुच्ची च्याउ 

    मुगु । सोरु गाउँपालिका-४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्ची च्याउ टिप्न भ्याइनभ्याइ छ ।

    उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन छिन । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्ची च्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्ची च्याउ टिप्न व्यस्त भएकी हुन ।

    गतवर्ष च्याउ टिपेर २५ हजार कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ । ताजागाउँकी बेलसरा बुढाले पनि वन जंगलमा बाख्रा चराउँदै गुच्ची च्याउ संकलन गर्ने गर्छिन ।

    गत वर्ष च्याउ बेचेर उनले ४० हजार कमाएकी थिइन् । जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्ची च्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्ची च्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ ।

    विपन्नको मुख्य आयस्रोतका रूपमा चिनिने च्याउले बर्सेनि राम्रो मूल्य पाउन थालेको छ । यस वर्ष भारी हिमपात र अधिक वर्षा भएकाले गुच्ची च्याउको राम्रो उत्पादन भएको स्थानीयवासीको आशा छ ।

    ‘जंगलमा च्याउ टिप्दैमा दिन बित्ने गरेको छ,’ बेलसराले भनिन्, ‘च्याउ नटिपे वर्षभरिको खर्च धान्न मुस्किल हुन्छ, त्यसैले वन जंगलको च्याउलाई मुख्य आयआर्जनको स्रोत बनाएका छौंँ ।’

    च्याउ टिप्न बिहानै जंगलमा जानुपर्ने र साँझ मात्र घर फर्किने भएकाले पहिले नै खानपिनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । स्थानीय बजारमा गुच्ची च्याउ प्रतिकिलो १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ ।

    केही व्यापारीले प्रतिगोटा सात रूपैयाँमा च्याउकिन्ने गरेका छन । जिल्लाको खत्याड, सोरु, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका अधिकांश जंगलमा गुच्ची च्याउ पाइन्छ छ ।

    बेँसीतिर उम्रिने गुच्चीच्याउ पहेँलो आकारको हुने र लेकमा उम्रने च्याउ कालो आकारको हुने सोरु गाउँपालिकाकच्चेका कलबहादुर कार्कीले बताए । उनका अनुसार च्याउ टिप्ने समयमा गाउँमा ज्येष्ठ नागरिक र अशक्तमात्र घरमा बस्छन् ।

    बालबालिकासमेत पढाइ छाडेर गुच्ची च्याउ टिप्न जाने गरेका छन तर च्याउको सिजनका बेला गाउँ बस्ती सुनसान हुने गरेको छ । निगालो, पीपल, उन्युँ बढी भएको जंगलमा गुच्चीच्याउ बढी उम्रिने गरेको छ ।

    उम्रेको दुई सातासम्म टिप्न नसके कुहिने, वन्यजन्तु र चराले खाने समस्या छ । सोरु गाउँपालिकाको रुम, रारा गिलाहा, धैनकोट, कालै, फोतु नेर, नार्थपु, खत्याड गाउँपालिकाको खमाले, गम्था, निगालबोट तथा मुगुमकार्मारोङ गाउँपालिकाको चितै, माग्री, पापु गाउँका जंगलमा च्याउ बढी पाइन्छ ।

    जिल्लामा उत्पादित गुच्ची च्याउ नेपालगञ्ज, काठमाडौं र तिब्बत्सम्म जाने गरेको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मेलबहादुर शाहीले बताए । उनका अनुसार व्यवसायीले गाउँमै पुगेर च्याउ संकलन गर्छन् ।

    जिल्लामा करिब २० क्विन्टल बढी गुच्चीच्याउ पाइने गरेको छ । सोरु गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने च्याउ व्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पुर्‍याउने गरेका छन ।

    गुच्चीच्याउको तरकारी मासु जस्तै स्वादिलो हुने र औषधी निर्माणमासमेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij