Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

औलोको उच्च जोखिममा कञ्चनपुर

औलोको उच्च जोखिममा कञ्चनपुर

  • 242
    SHARES
  • औलोको उच्च जोखिममा कञ्चनपुर

    कञ्चनपुर । भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ ।

    राेजगारीको सिलसिलामा भारत गएकाहरू फर्किंदा औलो संक्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा रहेको हो ।

    ‘संक्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्’, स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन् ।’

    आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेकोका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन ।

    ‘वैशाख/जेठमा बिरामी बढी देखापर्छन्, यो संख्या अझै बढ्न सक्छ’, पन्तले भने, ‘औलो निवारण गर्नका लागि कीटनाशक झूल वितरण र विषादी छर्किंदै छौँ ।’

    सरकारले २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आव २०७७/७८ मा १६ स्थानीय र ३१ आयातित गरेर ४७ तथा आव २०७८/७९ मा छ स्थानीय र ३० आयातित गरेर ३६ जनामा औलो संक्रमण देखिएको थियो ।

    महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा भेटिने औलोका अधिकांश बिरामी भारतबाट फर्किएका हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले बताए ।

    ‘भारतबाट काम गरेर फर्किनेहरूमा औलो रोगको संक्रमण बढी छ’, डा. भट्टले भने, ‘अस्पतालमा परीक्षण गर्दा त्यस्ता मानिसमा औलो संक्रमण देखिएका छन् ।’ कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर औलोले बढी प्रभावित छन ।

    स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार यो वर्ष सबैभन्दा बढी बेदकोटमा छ, भीमदत्तमा पाँच, कृष्णपुरमा चार, बेलौरी र दोधारा चाँदनीमा दुई, शुक्लाफाँटा र बेलडाँडीमा एक/एकजना औलाका बिरामी फेला परेका छन ।

    कीटनाशक झूल र विषादीको माग बढी भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको जनस्वास्थ्य अधिकृत पन्तले बताए । ‘प्राथमिकता निर्धारण गरेर कीटनाशक झूल र विषादी छर्किरहेका छौँ’, अधिकृत पन्तले भने, ‘माग बढी भएकाले व्यवस्थापन गर्न गाह्रो छ ।’

    सुरुआतमा औलो प्रभावित भीमदत्त नगरपालिकाको बाराकुण्डा, ब्रह्मदेव, कृष्णपुर, बेलौरीलगायत केही ठाउँमा कीटनाशक झूल वितरण गरिने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij