वेबटिभी खबर
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताप्रति विश्वास जगाउने पत्रकारिता गर्नुपर्ने बताएका छन ।
राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार एवम् सम्मान कार्यक्रम-२०८० को उपलक्ष्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनतामा आस्था एवम् विश्वास बढाउनुका साथै पत्रकारिता पेशलाई सत्यतथ्यका आधारमा अगाडि बढाउनुपर्ने बताएका हुन ।
सो अवसरमा राससकर्मी चन्द्रकला न्यौपाने भण्डारी (झापा), राजेश विद्रोही यादव (सुनसरी), सोमनाथ अधिकारी सुसेली (इलाम) र सटेन्द्र जवेगु (इलाम) लाई नगदसहित पुरस्कृत गरियो ।
मुख्यमन्त्री कार्कीले यस दिवसले नेपालको पत्रकाररिता क्षेत्रलाई सुधार्दै जनतामा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।
उनले कानुन निर्माण गरी प्रदेश सञ्चार प्रतिष्ठान बनाउने र यसको माध्यमबाट पत्रकारिता क्षेत्र बलियो तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै यस पेशाप्रति आकर्षण बढाउने प्रतिबद्धता जनाए ।
उनले संविधान दिवस, गणतन्त्र दिवस र प्रदेश स्थापना दिवसजस्ता महत्वपूर्ण दिनहरुमा समाजमा योगदान गर्ने प्रदेशका पत्रकारलाई आगामी दिनमा सम्मान गर्ने जानकारी दिए ।
जनताको जनादेश, संविधान र कानुनको माध्यमबाट संसद्भित्र छलफल गरी प्रदेशको सामूहिक पहिचानको आधारमा ‘कोशी’नामकरण गरिएको मुख्यमन्त्री कार्कीले स्पष्ट पारे ।
आगामी नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले प्रदेश सरकार एवम् विकासको अनुभूति हुने खालको सुझाव दिन पत्रकार संघ संस्थालाई उनले आग्रह गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले आवश्यक स्रोत र साधनका आधारमा सञ्चारकर्मीलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
पुरस्कृत पत्रकार चन्द्रकला न्यौपाने भण्डारी र सोमनाथ अधिकारी सुसेलीले सञ्चारकर्मीले सचेत, संयमित र वास्तविक सत्य तथ्यका आधारमा समाचार सार्वजनिक गर्नुपर्ने सुझाव दिए ।
मन्त्रालयका उपसचिव अर्जुन निरौला र नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारीले पत्रकारको क्षमता अभिवृद्धि र विकास तथा संघको भौतिक पूर्वाधारमा सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij