वेबटिभी खबर
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व संकलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित त्रैमासिक प्रगति समीक्षा गोष्ठिलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्व योगदान कम रहेको टिप्पणी गरेका छन् ।
उनले प्रदेशभित्रका धेरै सामुदायिक वनहरूले राजस्वमा योगदान पुर्याइरहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरुरूसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरि राजस्व संकलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताए ।
उनले भने, ‘प्रदेशभित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरि तीनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ ।’
सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै मुख्यमन्त्री कार्कीले वनलाई पर्यटनसँग जोडेर लैजाँदा निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।
उनले खुल्ला चिडियाखानाको अवधारणाबारे वन मन्त्रालयले गरिरहेको अध्ययन आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्ने धारणा व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij