वेबटिभी खबर
बाँके । बाँकेको राप्ती नदीको एउटा भंगालो खल्ला झगडिया हुँदै गंगापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुंगा चढ्नुपर्ने बाध्यता रहेको छ ।
खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुंगा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुंगा सधैँ तयारी अवस्थामा रहन्छ ।
बाँकेको पूर्वी क्षेत्रमा रहेको राप्तीपारी सिधनियाघाटमा पुल बनेको पनि डेढ दशकभन्दा धेरै भइसक्यो । तर पनि त्यहाँका तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुंगाकै भरमा नदी तर्ने गर्दछन् ।
राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुंगामै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन । उक्त नदीमा सञ्चालित प्रायः डुंगा भारतबाट खरिद गरेर स्थानीयले चलाउने गर्दछन् ।
भारतबाट भाडामा ल्याइएको डुंगा हाल जितबहादुर पासीले ठेक्कामा चलाइरहेका छन । उनले नदी तारेको प्रतिव्यक्ति दश रूपैयाँ लिने गरेका छन । जितबहादुर ले दिनमा आठ सयदेखि एक हजारसम्म आम्दानी हुने गरेको बताए ।
जितबहादुरले भने, ‘डुंगा चलाएबापत गाउँपालिकालाई वार्षीक ५० हजार दिने सम्झौता छ ।’ डुंगामा मानिस र भैँसीलाई बोकेबापत २०, साइकलको १५ र मोटरसाइकलको ३० लिने गरेको जितबहादुरको भनाइ छ ।
बीस वर्षदेखि राप्तीनदीमा डुंगा चलाउँदै आएका नानबाबु पासीले भारतबाट भाडामा डुंगा ल्याएर चलाइरहेको बताए । गत फागुन १७ गते सम्झौता सकिएपछि पालिकाले अरुलाई ठेक्का दिएको छ ।
हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्छ । हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुर बासिन्दा डुंगा तरेर जाने गर्दछन् । यो होलियाको पिप्रहवादेखि चार किलोमिटरको दूरीमा रहेको छ । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध नजिक पर्छ ।
हाट बजारमा तरकारी सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न जाने गरेको डुंगा चालक श्रवण विश्वकर्माले बताए । निःशुल्करूपमा डुंगा चढ्न पाउनुपर्ने डुडुवा गाउँपालिका-१, पिप्रहवाका कृष्णगोपाल यादवको भनाइ छ । ‘स्थानीय सरकार जनताको सहजताका लागि निःशुल्क चढ्ने व्यवस्था गर्नुपर्छ’, यादवले भने ।
राप्तीको बाढीले काट्दै गएपछि उक्त क्षेत्रका गाउँ कटानको समस्यामा छन । एउटै डुंगामा ५० जनादेखि ६० जना सवार हुन्छन् । डुडुवामा वडा नं-१ मा कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्ती रहेको छ । राप्तीको नदीमा चारवटा घाट छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij