वेबटिभी खबर
काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा लगाएको छ । राप्ती उपत्यकामा लुम्बिनीको स्थायी राजधानी तोकिएपछि त्यहाँ जग्गा किनबेच रोकिएको थियो ।
जग्गा फुकुवा नगर्दा जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । यस विषयमा मन्त्री मास्कीले आन्दोलनरत पक्षसँग छलफल गरेका थिए ।
छलफलमा एक महिनाभित्र जग्गा फुकुवा गर्ने गरि प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेपछि आन्दोलन रोकिएको थियो ।
उनले भने, ‘एक महिनाभित्र जग्गा फुकुवाका लागि मैले प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजान्छु । त्यसपछि जग्गा फुकुवाको काम अघि बढ्छ ।’
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिनादेखि जग्गा किनबेच रोक्का थियो । लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा समस्या भएको थियो ।
त्यस्तै अंशवन्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन समस्या भएको छ ।
लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पूरै नौवटा वडा, गढवा-१, २ र ३ वडा तथा सितगंगा नगरपालिका-८ र ९ मा जग्गा रोक्का गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij