वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । जनमोर्चाको शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरेको हो ।
‘शुक्रबार बिहान बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठक बसेर थापालाई कारबाही गरिएको छ । उनलाई सांसद पद र पार्टी सदस्यता नै नरहने गरी कारबाही गरेको पत्र प्रदेशमा पठाइएको छ’ अध्यक्ष चित्रबहादुर केसीले भने ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिने पार्टीको ह्विप भए पनि यसलाई उल्लंघन गर्दै थापा तटस्थ बसेका थिए । पार्टीको ह्विपउल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष केसीको भनाइ छ ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न साथ नदिएपछि उनलाई पार्टीले कारबाही गर्दै २० जेठमा पनि पदमुक्त गरेको थियो । आफूलाई पार्टीले गैरसंवैधानिक र पार्टीको विधानविपरीत आफूलाई कारबाही गरेको भन्दै थापा सांसद पद पुनर्वहालीका लागि २१ जेठमा सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेको थिए ।
उनको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २३ जेठमा थापालाई सांसद पदमा पुनर्वहाली गरेको थियो । २६ जेठमा जनमोर्चाले सांसद थापालाई पुनर्वहाली नगर्नका लागि सर्वोच्चमा पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गराएको थियो । सर्वोच्चमा दर्ता रहेको पुनरावलोक निवेदनमाथि सुनुवाई नहुँदै थापा पार्टी सदस्य र सांसदसमेत नरहने गरी कारबाहीमा परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij