वेबटिभी खबर
कैलाली । कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन ।
उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका हुन । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन।
टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकले आफूले शिक्षण गर्ने विषयको शैक्षणिक योजना अनिवार्य बनाउनैपर्ने नीति लागू गरेपछि शिक्षकहरू योजना निर्माणमा जुटेका हुन ।
आफूले पढ्दा शैक्षणिक योजना निर्माणको अभ्यास गरिसकेकाले खासै गाह्रो महसुस नभएको खड्ग मावि टीकापुरका शिक्षक रामकुमार चौधरीले बताए ।
‘मैले आफू विद्यार्थी हुँदा शैक्षणिक योजना बनाएको अनुभव थियो, त्यसैले मलाई खासै गाह्रो भएन’, शिक्षक चौधरीले भने, ‘पढाउने विषयको शैक्षणिक योजना निर्माण गरिसकेको छु । अब योजनाअनुसार अध्यापन गर्न सहज हुनेछ ।’
टीकापुरले शिक्षकलाई यो खालको अभ्यास गर्न पहिलोपल्ट अनिवार्य गरेको छ । त्यसैले पनि धेरैलाई केही न केही कठिन महसुस भएको छ ।
आफूलाई केही विषयको शैक्षणिक योजना निर्माण गर्दा केही कठिन भएको नवदुर्गा आधारभूत विद्यालयका शिक्षक भगिरथ चौधरीले बताए ।
‘पहिलोपटक निर्माण गर्न थालेकाले केही कठिन भएको छ । तर पालिकाको निर्देशन मान्नुपर्छ’, शिक्षक भगिरथले भने, ‘मेहनत गरिरहेको छु, मेहनतले पछिका लागि सहज बनाउनेछ । योजना बनाएमा मलाई पूर्वतयारीका साथ शिक्षण गर्न सहज हुन्छ ।’
केदारेश्वर आधारभूत विद्यालयका शिक्षिका मंगला मिश्रले शैक्षणिक योजना निर्माणबारे आफूलाई जानकारी नभएको बताइन् ।
‘मलाई जानकारी नभएकाले बनाएको छैन । अब योजना निर्माणमा लाग्छु’, शिक्षिकाले मिश्रले भनिन् ।
कुनै पनि काम योजना निर्माण गरी अगाडि बढ्दा सहज, छिटो र उपलब्धिमूलक हुने भएकाले शिक्षकले वार्षिक शैक्षणिक योजना निर्माण गरी पठनपाठन गर्न अनिवार्य गर्न सकारात्मक भएको शिक्षकहरू नै बताउँछन् ।
‘शिक्षक शिक्षक मात्र नभई विद्यार्थी पनि हो । एउटा शिक्षकले कक्षा कोठामा प्रवेश गर्नुपूर्व विषय वस्तुको अध्ययन गरी पूर्वतयारी गर्नुपर्छ अनि मात्र कक्षा प्रवेश गर्दा राम्रो मानिन्छ’, शिक्षक रवीन्द्रबहादुर कठायतले भने, ‘कुन विषय वस्तु कसरी शिक्षण गर्ने, कस्ता शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने विषयमा शिक्षकले तयारी गर्न जरुरी छ । योजना निर्माणले शिक्षकलाई अध्ययनशील हुन सघाउँछ ।’
शैक्षिक प्रक्रियामा शैक्षणिक योजना निर्माण अनिवार्य हो । सुरु-सुरुमा निर्माण गर्दा केही कठिन जस्तो देखिए पनि पछि/पछि सजिलो हुने टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए ।
‘निर्माण गर्दा अलि कठिन हुन्छ, तर योजना पहिल्यै बनाएमा पछि शिक्षकलाई धेरै सहज हुन्छ’, शाखा प्रमुख चौधरीले भने, ‘हरेक काम योजना बनाएर गर्दा सहज हुन्छ । अझ शिक्षा जस्तो क्षेत्रमा लापरवाही गर्नै मिल्दैन । योजनाअनुसार अध्यापन गरेमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत सहयोग हुन्छ ।’
शैक्षणिक योजना निर्माणपश्चात एक प्रति शिक्षा शाखामा राखिने र योजना हेरी आवश्यक सुझाव दिने पालिकाको तयारी छ ।
यसरी शैक्षणिक योजना पालिकामा समेत बुझाउनुपर्ने भएकाले शिक्षकले शैक्षणिक योजना बनाए/नबनाएको विद्यालयमा गई अनुगमन पनि गरिने चौधरी बताए ।
‘योजना निर्माणपश्चात सिकाइ उपलब्धिमा वृद्धि हुनेछ’, चौधरीले भने, ‘पालिकालाई विद्यालयको अनुगमन गर्न, योजना बनाउनसमेत सहयोग पुग्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij