वेबटिभी खबर
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त हुने पक्का भएको छ ।
सत्तारुढ नेकपा एमालेको विपक्षमा उभिएका कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी, नेपालले विपक्षी गठबन्धन नै बनाएर कांग्रेसका पोखरेललाई मुख्यमन्त्री बनाउन लागेको हो ।
बिहीबार गण्डकीको सरकार अल्पमतमा परेपछि वैकल्पिक सरकार गठनका लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि विपक्षी गठबन्धनले वैकल्पिक नयाँ सरकार गठनको गृहकार्य सुरु गरेको हो ।
१६ वैशाखमा युवा तथा खेलकुदमन्त्री बनेका स्वतन्त्र संसद दीपक मनाङेले पनि मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिएपछि गुरुङ अल्पमतमा परेका थिए । आफूलाई मत नदिएपछि बिहीबार नै मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्रीबाट हटाएका छन् ।
मन्त्रीपदबाट राजीनामा दिएका मनाङेले अब विपक्षी गठवन्धन लाग्ने घोषणा गरेका छन् । उनको समर्थनसँगै पोखरेलको पक्षमा बहुमत जुटेको छ । बिहीबार भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
बिहीबारको मतदानको गणितका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । विपक्षी गठबन्धनलाई मनाङेले समर्थन गरेपछि गुरुङ नेतृत्वको सरकार हटेर मुख्यमन्त्रीमा पोखरेल आउने बाटो खुलेको छ ।
बिहीबार कांग्रेसका १५, माओवादीका ११ जसपाका २ र जनमोर्चाका २ सांसदले सरकारको विपक्षमा मतदान गरेका थिए । उनीहरु सबैले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने विश्वास पोखरेलको छ । पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत रहेको दाबी गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij