वेबटिभी खबर
बाँके । बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवर्द्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन ।
केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो प्याकेजको घोषणा गरेको होटेल तथा रेष्टुरेष्ट व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष तथा संघका केन्द्रीय सदस्य भीमलाल कँडेलले जानकारी दिए ।
उनले उक्त प्याकेज जेठ महिनाका लागि मात्रै भएको जानकारी दिँदै अहिले चार होटेलले मात्रै गरेको तर केही दिनपछि सबैले प्याकेजको घोषणा गर्ने बताए ।
‘एक महिनाभरि यसको कस्तो परिणाम आउँछ, त्ससको समीक्षा गर्छौं र पुनःयसलाई निरन्तरता दिन्छौँ’, कँडेलले भने । खास गरी महाआरतीमा सहभागी हुन आउने भारतीय पर्यटकको बसाइँ लम्ब्याउन सो प्याकेज घोषणा गरेको बताइएको छ ।
नेपालगञ्जको गणेशमान चोकमा रहेको होटेल इन्द्रेणीले होटेलमा आउने अतिथिका लागि दुई छाक खाना निःशुल्क गरेको छ । बागेश्वरी हल रोडमा रहेको अप्सरा होटेलले बास बस्नका लागि होटेलका कोठामा ५० प्रतिशत छुट गरेको छ ।
स्वर्गद्धारी होटेलले एक छाक खाना निःशुल्क र दंगाली होटेलले दुई जनालाई होटेलमा कोठा निःशुल्क हुने जनाएको छ । होटेल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खडकाले अहिले पर्यटकका लागि सुरुआत मात्र भएको उल्लेख गर्दै सबै होटेल व्यवसायीलाई प्याकेज घोषणा गर्न आह्वान गरेको बताए ।
अध्यक्ष खड्काले संघको निर्णयानुसार उक्त प्याकेज घोषणा भएको जानकारी दिए । बाँकेमा साना तथा ठूला गरेर करिब तीन हजार बढी होटेल सञ्चालनमा छन ।
बागेश्वरी मन्दिरमा सुरु भएको महाआरतीपछि धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको छ । मन्दिर आउने भक्तजनलाई लक्षित गरेर सो प्याकेज ल्याइएको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij