वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि बहुमत सांसद रहँदा पनि सरकार गठनमा ढिलाइ गरिनु लोकतन्त्र र निर्वाचन परम्पराविपरित भएको दाबी गरेका छन् ।
२७ जेठमा प्रदेशसभामाबाट विश्वासको मत जुटाउन नसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको र वैकल्पिक सरकार गठनका लागि कांग्रेससहितको विपक्षी गठनसँग बहुमत सांसद रहेको अवस्थामा प्रदेश प्रमुख सीता पौडेलबाट सरकार गठनको आह्वानमा ढिलाइ भएको निधिको ठम्याइ छ ।
२७ गते बिहीबार मुखयमन्त्री अल्पमतमा परेपछि शुक्रबार प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समयसीमा तोक्दै शनिबारसम्म नयाँ सरकार गठनका लागि आह्वान गरे पनि निधिले यसमा प्रश्न उठाएका हुन् ।
‘गण्डकी प्रदेशमा बहुमत पुग्ने ३१ जना सदस्य सहित उपस्थित भए पनि माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लङ्घन हो,’ निधिले ट्वीटरमा लेखेका छन्, ‘चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन । अति भयो !’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij