Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

गाउँको विकासबारे 

गाउँको विकासबारे 

  • 730
    SHARES
  • गाउँको विकासबारे 

    इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित गाउँ हो बरबोटे । हाल यो इलाम नगरपालिकाको वडा नम्बर ४ को प्रशासनिक क्षेत्रमा समेटिएको छ । मेची राजमार्गले छोएको बरबोटे इलाम जिल्ला सदरमुकाम इलाम बजारदेखि ७ किमि उत्तरमा छ । माइपोखरी र सेतीमाई जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको नजिकै अवस्थित यो गाउँ प्राकृतिक स्रोत साधनका रूपमा पनि धनी छ । यो आलेखमा मुख्यतः बरबोटेको सम्भावना र गाउँमै अवसर सिर्जनाका चाल्न सकिने कदमबारे व्यवहारिक कुराहरू लेखेको छु । यसको व्यवहारिक कार्यान्वयनबारेमा आगामी दिनमा छलफल र विमर्श हुनेमा आशावादी पनि छु ।

    विकासका लागि आवश्यक तत्व 

    हामी सबैलाई जानकारी भएकै कुरा हो, विकासका लागि जनशक्ति चाहिन्छ । हाम्रोमा कृषिलाई अझै पनि सम्मानपूर्ण पेशा मानिन सकेको छैन, कृषि पेशालाई सम्मानपूर्ण पेशा बनउन यसमा युवाहरूको आकर्षण बढाउन सकिन्छ ।  युवाहरूको विदेश पलायन रोक्नुपर्छ । पलायन रोक्न कृषि पेशालाई जिविकोपार्जन मात्र होइन अर्थोपार्जन हुनसक्ने मर्यादित पेशाका रूपमा स्थापित गराउन हामीले नै पहल गर्नुपर्छ ।

    बरबोटेका हामी युवाहरू मलेसिया गएर १४ घन्टा काम गर्नसक्ने, कतार गएर १६ घन्टा खट्न सक्ने, कोरिया गएर १८ घन्टा र अमेरिका गएर २० घन्टासम्म जोतिन सक्ने अनि नेपालकै बरबोटेमा दिनको ८, १० घन्टा काममा व्यस्त रहन नसक्ने ? युवाहरूको विदेश पलायन रोक्न सजिलो छैन, सरकारको ढुकुटीमा जम्मा हुने रकमको झन्डै ४० प्रतिशत हिस्सा रेमिटान्सले धानेको छ । युवाहरूलाई श्रम बेच्न विदेश नपठाए राज्यको अर्थस्रोत नै सुक्ने हुँदा युवाहरूलाई सस्तो श्रममुल्यमा विदेश पठाउन सरकार उद्धत छ ।

    मेनपावर कम्पनीमार्फत युवालाई विदेश पठाइने हुँदा राज्यका माथिल्लो तहमा बसेकै व्यक्तिहरूले मेनपावर कम्पनीमा लगानी गरेका छन्, त्यसैले तपाईं हामी विदेश जाँदा भनेको काम र तलब नपाए पनि नेपालमा त्यसको गुनासो सुनुवाई हुँदैन, सुनुवाई भए पनि दोषीलाई कारबाही हुँदैन । वैदेशिक रोजगारीको यो समस्याले इलामको बरबोटेलाई मात्र होइन सबै जिल्लाका गाउँलाई विक्षिप्त बनाएकै छ ।

    यी सबै कामका लागि आवश्यक पूर्वाधार बरबोटेमा पुगेकै छन् । खानेपानीको केही समस्या छ । यसलाई पनि परिपूर्ति गर्न सकिन्छ । पहिले सानबिरे खोल्साको पानी टेंकरले ओसारेर इलाम बजारमा खानेपानी वितरण गरिन्थ्यो, बरबोटेका लागि आवश्यक खानेपानी पनि त्यसरी नै वितरण गर्न सकिन्छ । खानेपानीको समस्या समाधानका लागि इलाम नगरपालिकालगायत सम्बन्धित पक्षसँग छलफल गरेर निष्कर्ष निकाल्न सकिन्छ । भालुबाँसेलगायतका खोल्साबाट हिउँद र वर्खामा अवस्था हेरेर खानेपानी र सिँचाइका लागि पानी जुटाउन सकिन्छ । यसका लागि परम्परागत कुलो वा डुँडभन्दा पनि आधुनिक खालका मोटर प्रयोग गर्न सकिन्छ ।

    उत्पादन, श्रम र ज्यालाबारे 

    खेतालाहरूको ज्यालालाई व्यवहारिक बनाउँदै आवश्यकता अनुसार बढाउनेतर्फ पनि विचार गर्नुपर्ने हुन्छ । ज्याला बढाउनका लागि मुख्य कुरो उत्पादनका प्रकार र मात्रा बढाउनुपर्छ र उत्पादित सामग्रीले बजार पाउनुपर्छ कुचो, अलैंची, अकबरे, केरा, कफी, काक्रा, फर्सी र अन्य तरकारीको उत्पादन बढाउनुपर्छ यिनीहरूलाई झापाको काँकडभिट्टा, चारआली, बिर्तामोड र दमकसम्म पुर्याउन सकियो भने हाम्रा बारीमा श्रम प्रयोग गर्ने जनशक्तिलाई चित्तबुझ्दो ज्याला दिन सकिन्छ । तर भारतको एकाधिकारका कारण हाम्रा उत्पादनले सन्तोषजनक भाउ पाउन सकेका छैनन्, यसको तल चर्चा गरिने छ ।

    उत्पादनका लागि मुख्य रूपमा बीउ, सिँचाइ, जमिन, मलखाद र जनशक्ति आवश्यकता पर्छ । यी कुराहरू एकअर्कामा परिपूरक छन् । यी कुनैमध्ये एक कुरामात्र भएरमात्र उत्पादन गर्न सकिँदैन । उन्नतजातको बीउले हामीले पाखा–बारीमा राम्रो प्रकारका घाँस उब्जाउन सकिन्छ, उब्जिएको घाँस गाई–बाख्रा पालेर खुवाउन सकिन्छ, त्यसबाट मलखाद उत्पादन हुन्छ, सोही मलखाद प्रयोग गरेर हामीले खाद्यान्न वा नगदेबाली उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । यसरी उत्पादन बढाउँदै लगेर गाउँलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन सकिन्छ ।

    बरबोटेको तल्लाबारीहरूमा केराखेती गर्नेबारे अध्ययन गर्न जरूरी छ । अहिले चिया बगान भएका स्थानमा यिचाखेती थप्न सकिन्छ । गुल्मीमा हुने कफी खेतीलाई इलामको हाम्रो गाउँमामा पनि थप विस्तार गर्न सकिन्छ कि यसबारे सोच्ने बेला आएको छ । यस्तै मेची राजमार्ग छेउमा होटल व्यावसाय गर्न सकिने सम्भावना पनि हाम्रा सामु छ । होटल व्यावसायलाई पनि राम्रो नमान्ने प्रवृत्ति हामीमा कतै देखिन्छ, होटल व्यवसायमा रहेका कमी कमजोरी हटाएर व्यवस्थित खाका तयार गरेर होटल व्यवसाय गर्न सकिन्छ । आधुनिक तरिकाले माछा, कुखुरा र खसीपालन गरेर होटलमा त्यसका विभिन्न परिकार बनाएर बिक्री गर्न सकिन्छ ।
    होटल सञ्चालन गर्दा एउटा–दुईटा होइन लस्करै पन्ध्र, बीसवटा नै बनाउन सकिन्छ । कसैको जग्गा पर्ने भए त्यसको हिसाब गरेर मासिक वा वार्षिक तिर्नुपर्ने भाडा तिरेर सम्बन्धित धनीलाई बुझाउन सकिन्छ । होटल व्यावसायसँगै सागसब्जी र चियापत्ती पनि बिक्री गर्न सकिन्छ ।

    198976913_5941100335930817_3147131060694538823_n.jpg

    माछा, कुखुरा र खसीपालन गरेर उत्पादन हुने दूध, मासु, अण्डा, सागपात र तरकारी फलाएर बेच्ने मात्र होइन आफूले पनि प्रशस्त उपयोग गर्न सकिन्छ । जसले हामी शारीरिक र मानसिक रूपमा तन्दुरूस्त बन्न मद्दत पुग्छ । शरीर र मष्तिष्क तन्दुरूस्त भएपछि श्रम क्षमता र स्फूर्ति बढ्छ, जसलाई हामीले पुनः उत्पादनका लागि खर्च गर्नसक्छौं । आधुनिक प्रकारका औजारहरू प्रयोग हुन आर्थिक र भौगोलिक कठिनाइका कारण हामी परम्परागत रूपमा नै श्रम प्रयोग गरिरहेका छौं । मुख्यगरी हामी खेतालाहरू नै अहिले श्रमका साधन हौं ।

    युवाहरूको विदेश पलायनका कारण गाउँमा सहजै खेताला पाउन नसकिने अवस्था छ । खेताला नभएपछि चिया टिप्न होस् वा अदुवा रोप्न, कुचो टिप्न होस् या तरकारी रोप्ने यी काममा कमी आउँने नै भयो । त्यसैले आ मान्छे नै पाइँदैन भन्यो थोरै ठाउँमा आलु फलायो, मान्छे नै छैनन् भन्यो मसला मात्र पुग्ने गरी अदुवा रोप्यो, मान्छे नै पाइँदैन भन्दै पाखालाई यत्तिकै बेबारिसे छोडेर बाँदरको खेलमैदान बन्न दियो । हो वास्तवमा यी समस्या छन् जसको एउटा मात्र उपाय हो युवाहरूको विदेश पलायन रोक्ने र आकर्षक ज्यालादारीमा काम गर्न पुग्ने अवस्थाको सिर्जना गर्ने ।

    कृषि क्षेत्रमा कम श्रमशक्तिमै बढी उत्पादनका लागि हामीले घाँस काट्ने, गाई–गोरू–बाख्रा पाल्ने, पसल–व्यावसाय सञ्चालन गर्ने तरिका र प्रणालीमा केही परिर्वतन गर्न सकिन्छ कि यसबारे किन नसोच्ने ? हामीले अहिले घाँसको एक डोको भारी पुर्याउन ४५ मिनेट लगाउँछौं र त्यसले एउटा गाईलाई दुई पटकको खान्की पुग्दै आएको छ यदि हामीले घाँस काट्ने तरिकालाई वैज्ञानिक रूपमा विकसित गर्यौं र १५ मिनेटमा घाँसका तीन÷चार डोका घाँस काट्न सक्यौं भने त्यो घाँसले अवस्य पनि ४ वटा गाईलाई ८ पटक खुवाउन पुग्छ । यस्ता तरिका र औजार बरबोटेमा भित्र्याउन सके कम श्रमशक्तिमै बढी उत्पादन गर्न सकिन्छ । 

    एकीकृत कृषि प्रणाली र लगानीको स्रोतबारे 

    एकजनाले एउटा बारीमा केही उत्पादन गर्यो त्यसलाई कुनै साहुकहाँ पुर्याएर बेच्यो, फेरि भनेको बेलामा बिक्री नहुन पनि सक्छ अथवा उसले भनेकै दाममा बेच्दा आफूलाई केही फाइदा नहुने अवस्था पनि हामीले भोग्नु परेको छ । यसको समाधानका लागि हामीले एकीकृत कृषि प्रणाली अवलम्बन गर्न सकिन्छ । गाउँका सबै मिलेर आफ्ना सबै जमिनलाई एकीकृत गर्ने र त्यहाँ अहिले उत्पादन हुँदै आएका तरकारी र नगदेबालीको मात्रा बढाएर खेतीपाती गर्ने । धेरै व्यक्तिको धेरै जमिन भएपछि उत्पादित वस्तु भाग लगाउने बेलामा समस्या आउला नि ? भन्ने प्रश्न आउला तर त्यस्तो हुँदैन किनभने जसले जति जमिन उपलब्ध गराएको छ उसलाई त्यति नै उत्पादनको मूल्य दिँदा सबैलाई न्याय हुन्छ ।

    199037258_575866220075699_6365811719745922552_n.jpg

    त्यहाँ आवश्यक बीउ, मललगातका सामग्री खरिद गर्दा खर्च भएको मुल्य समानुपातिक तरिकाले नै उठाउन सकिन्छ । सर्सर्ति हेर्दा यसो गर्दा खासै फाइदा देखिँदैन तर उत्पादित तरकारी र अन्यबालीहरू बजारसम्म पुर्याउन र आफूहरूले भनेकै दाममा वा सन्तोसजनक मूल्यमा बिक्री गर्न सकिन्छ । यसका लागि हामीले एउटा संगठन नै बनाउन सकिन्छ । जुन लोकतान्त्रिक र निर्वाचनको व्यवस्थासहितको हुनुपर्छ । संगठनमा प्रत्यक्ष कार्यकारी अध्यक्ष हुनुपर्छ र अध्यक्षका निर्णय कार्यान्वयनका लागि एउटा स्थायी समिति वा यस्तै प्रकारको संरचना बनाएर अध्यक्षको निर्णयलाई कार्यान्वयन गर्न सकिन्छ । प्रत्येक १/१ वर्षमा निर्वाचन गरेर अध्यक्ष चुन्न पाइने व्यवस्था गरिनुपर्छ । कसैले पनि कपटपूर्ण विचार नराखी साँच्चै बरबोटेको विकास चाहेर यसरी काम गर्ने हो भने बढीमा १० वर्षभित्रमा बरबोटे इलाम जिल्लाकै नमुना गाउँ बन्न सक्छ । सबैजनाले एकतावद्ध रूपमा प्रयास गर्ने हो भने कृषि विकास वैंक वा अन्य निजी बैंकले सस्तो ब्याजदरमा २/४ करोड ऋण नदिने कुरै हुँदैन । सबैले जाँगर चलाएर काम गर्ने हो भने त्यो २÷४ करोड ऋण १, डेढ वर्षमा नै सजिलै तिर्न सकिन्छ ।

    अहिलेको अवस्था 

    दुःखका साथ भन्नुपर्छ अहिले हाम्रो गाउँमा सामान्य बिरामी पर्दा उपचार गर्ने स्वास्थ्यसंस्था छैन, एउटा सिटामोल किन्नका लागि २ किमि पर रहेको बिब्ल्याँटे वा ७ किमि पर रहेको इलाम बजार नै पुग्नुपर्ने बाध्यता छ । एउटा हँसिया अर्जाप्नु पर्यो भने दक्ष र युवा जनशक्ति पाउन गाह्रो छ । वर्खामा ओढ्नका लागि एक मिटर प्लास्टिक वा बारीमा हाल्न डीएपी, युरिया मल किन्नका बिब्ल्याँटे वा इलाम बजार पुग्नुपर्ने र त्यहाँ पनि नपाइएको खण्डमा झापा नै पुग्नुपर्ने बाध्यता छ । हामीले यस्ता सामग्रीको पसल गर्ने हो भने बरबोटेका स्थानीयले धेरै राहत पाउनेछन् र यसबाट राम्रोसँग पैसा पनि कमाउन सकिन्छ । फलफुलको सवालमा त बरबोटे धेरै पछाडि छ ।

    आरू, आल्चा, अम्बक, नस्पाती आदि फलफूल गाउँमा उपलब्ध भए पनि कोही बिरामी परेर भिटामिनका लागि आवश्यक पर्ने  स्याउ, सुन्तोला, अङ्गुर, केरा, अनार बिब्ल्याँटे त होइन इलाम बजारमै पनि उचित मुल्यमा सहजै नपाइने अवस्था छ । स्वास्थ व्यक्तिले नै पनि खान मन लागेको बेला फलफूलको उच्च मुल्यका कारण योजना नै बनाउनुपर्ने बाध्यता छ वा एक दानो किनेर बाटामा टोक्दै हिँड्नुपर्ने अवस्था छ । यस्तो अवस्था अन्त्यका लागि यीमध्ये कुन–कुन फलफूलहरू हामीले आफैं उत्पादन गर्न सक्छौं ? यसबारे सोच्नैपर्छ । फलफूलविज्ञहरूसँग छलफल गरेर योजना बनाएरै लाग्नु हो भने झापामा उपलब्ध हुनेमध्ये केही फलफूल बरबोटेमै उत्पादन गर्न सकिन्छ ।

    यसका लागि सिँचाइ र खानेपानीको स्रोत विकासका लागि वृक्षरोपण गर्दै वन–जङ्गल जोगाउनुको विकल्प छैन । केराको बोटले पनि पानीको सञ्चिति र जमिनलाई आवश्वक पर्ने मात्राअनुसार पानी दिने पनि गर्ने रहेछ, त्यसैले खानेपानीको सहजताका लागि बरबोटेका उत्तरतर्फका डाँडामा केराखेती गर्न सकिन्छ । अहिले ओसिलो ठाउँ र सिममा गरिने अलैंची खेती मासिँदै गएको छ । सुख्खा ठाउँमा नै गर्न सकिने अलैंची खेती केही स्थानमा गरिएको देखियो । अलैंची खेतीमा यस्तो विकल्प राम्रो हो तर अलैंचीको वास्तविक परिचय हराउँन नदिनेमा हामी जागरूक हुनै पर्छ, किनभने अलैंची इलामको परिचायक हो ।

    यस्तै अदुवा, ओलन, अकबरे, अम्लिसोहरू पनि इलामका उत्पादन हुन् र बरबोटेका पनि चिनारी हुन् यिनीहरूलाई कसरी वास्तविक नगदेबाली बनाउने र किसाने यसबाट सन्तोषजनक पैसा हात पार्ने भन्नेमा वित्तीय नीति निर्माताहरूले ध्यान दिनुपर्छ । यसका साथै बाँस र तामाको उत्पादन गरेर पनि राम्रै मुनाफा गर्न सकिने रहेछ, यी उत्पादन बिक्रीका लागि राम्रो बजारको खोजी गर्न आवश्यक छ ।

    बरबोटेबाट बिब्ल्याँटे–इलामहुँदै झापाको काँकडभिट्टा नाकाहुँदै भारत निकासी हुने अदुवा, कुचोको गुणस्तर नपुगेको आरोप लगाउँदै भारतले बेलाबेलामा हाम्रा यी उत्पादनको निकासी रोकिदिने गरेको छ । भारतले भनेको दाममा उत्पादन बेच्नुपर्ने व्यावासायीको बाध्यता छ । भारतलाई यसरी बिक्री गरिएको उत्पादनबापत कृषकले पाउने रकमको अन्तर धेरै हुँदा कृषकहरू आफ्नो पेशाबाट बिचलित हुने अवस्था बढ्दो छ । इलामका व्यावसायीमाथि भारतीय व्यावसायीले गर्ने यस्तो विभेदकारी व्यापार नीति सच्याउन जरूरी छ । माथि पनि भनियो हाम्रा उत्पादनले मुल्य पाए मात्र हामीले श्रमशक्ति र उत्पादनमा लगानी गर्न सक्छौं । यस्ता हाम्रा उत्पादन प्रशोधन गरेर बनाइने वस्तु हाम्रै ठाउँमा पो उत्पादन गर्न सकिन्छ कि ? यसबारे राष्ट्रिय योजना बनाउन जरूरी छ । सरकारले साँच्चै चाहने हो भने एशियाली विकास बैंक, जाइका वा अन्य दातृ निकायले सरकारलाई पक्कै पत्याउने छन् ।  

    भौतिक, राजनीतिक परिर्वतनमा पहिले र अहिलेको स्थिति

    198463386_3103857586566198_3395144266008933151_n.jpg

    पहिले कच्ची बाटो थियो । तराईबाट खाद्यान्न लिएर ट्रक आउन ३, ४ दिन लगाउँथे, सडकको सुविधाले ती दिन अहिले घण्टामा परिवर्तन भएको छ । गाउँमा जनसंख्याको अवस्था २० वर्षको अन्तरालमा धेरै नै अन्तर आएको छ । जनसंख्यामा वृद्धि भएको छ ।
    हाल मेची राजमार्गबाट झन्डै १२, १५ किमि दक्षिणमा रहेको पुवाखोलासम्म कच्ची सडक पुर्याइएको छ ।

    इलाम नगरपालिका वडा नम्बर पाँचको सक्रियतामा सोसडक खनिएको हो । यसमा पायक पर्ने स्थानका स्थानीयले पनि सहयोग गरेका छन् । सडक बन्नु नराम्रो कुरा होइन । तर वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) नगरी र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नबनाइ ‘जसले सक्छ, त्यसले खन्छ’ भन्ने नीतिबाट सडक खनिन्छ भने त्यो प्रकृतिका लागि लाभदायक हुँदैन । सडक बनाउने नाममा हामीले खानेपानीको स्रोत मास्न हुँदैन, जथाभावी रूख खनेर र पहाड कोपरेर बनाइएको सडक एउटा–दुईटा हिउँदका लागि मात्र उपयोगी हुन्छ धेरै वर्खा त्यसले थाम्दैन, पहिरोसँगै बिलिन हुन्छ ।

    इलामको दक्षिणी भाग चुरे पहाडले बनेको छ । बरबोटेकै पनि पुवाखोला किनार आसपासको क्षेत्र चुरे पहाडले बनेको छ । रोङ र बुद्धशान्ति गाउँपालिकाका साना पहाडहरू जस्तो चट्टानले बनेको छ, बरबोटेको कोदोकारीभन्दा तलका भिरमा पाइने चटन र ढुङ्गामा समानता छ । त्यसैले त्यहाँ पानीको स्रोत रहेको अनुमान मात्र होइन तथ्य नै छ, हामीले संरक्षण गर्न सक्नुपर्छ । सिँचाइको राम्रो प्रवन्ध गरेर यो क्षेत्रमा केरा, सुठुनी के–के फलाउन सकिन्छ र सजिलो तरिकाले ढुवानी गर्न सकिन्छ यसमा पनि हामीले ध्यान दिनुपर्छ । सडक र खेतीका नाममा जथाभावी खन्दा खानेपानीको मुहान सुक्न सक्छ ।

    स्थानीय तहमा सरकार बनेपछि स्थानीय जनतालाई अवस्य लाभ मिलेकै छ । केन्द्रिकृत सरकार भएको हिजोको प्रणालीमा एक टुक्रो पाइप चाहिँदा जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर महिनौं कुर्नुपर्ने बाध्यता हटेको छ । हामी वडा कार्यालयमा गएर गाउँको समस्या राख्न सक्छौं, समाधान पनि पाउँछौं । तर स्थानीय सरकारबाट सबै परिस्थितिमा हामीले यस्तो सुविधा पाउन सकेका छैनौं । राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा सेवाग्राहीलाई सेवाप्रवाह गर्नु सार्वजनिक प्रशासनको हितविपरित हुन जान्छ । स्थानीय सरकार सञ्चालन ऐनले पनि त्यसो गर्न पक्कै भनेको छैन । स्थानीय सरकार सञ्चालनमा राजनीतिक पार्टीका घोषणापत्रले तोकेका एजेन्डालाई पनि हामीले केलाउन जरूरी छ, र सम्बन्धित निकायलाई प्रश्न सोध्न र सार्वजनिक महत्वका विषयमा आवश्यकताअनुसार सुचना माग्नुपर्छ । 

    कला, साहित्य र विमर्शबारे

    कुनै स्थानको विकासमा राजनीति मात्र सबल विषय हुन सक्दैन । समाजको चेतना, आलोचनात्मक चेतको विकास र कला–सिर्जनाको विकास नभएसम्म भौतिक प्रगति हात पर्दैन । यसको उदाहरणका रूपमा हामी मध्यपुर्वका कतार, दुवैजस्ता देशका प्रमुख र उदाहरणका रूपमा लिन सक्छौं भने पूर्वी एशियामा दक्षिण कोरियाका नेताहरूलाई लिन सक्छौं । युरोप, अमेरिकाको साहित्यलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ ।

    मान्छेको सोच उसको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिकस्तरअनुसार निर्माण भएको हुन्छ । समाजशास्त्रमा स्नातक गरेको र व्यवस्थापनमा स्नातकोत्तर व्यक्तिबीच कुनै विषयमाथिको दृष्टिकोण र विमर्श गर्ने क्षमतामा फरक हुन्छ नै । चार वा पाँच कक्षामा अध्ययनरतले पनि विद्यावारिधिले सोच्न नसकेको कुराहरू गरिरहेको हुन्छ । यी सबै प्रकारका विचारले समाजमा स्थान पाउनुपर्छ अनि मात्र सहभागितामूलक रूपमा विकास सम्भव छ ।

    त्यस्तै आर्थिक स्तरले पनि मानिसको सोचमा फरक ल्याइरहेको हुन्छ । कपडा च्यातिए अर्को किनेर लगाउने सामथ्र्य पैसा भएको मानिससँग हुन्छ तर पैसा नभएको मानिस कपडा च्यातिए सिलाएर लगाउन बाध्य हुन्छ, लुगा सिलाउने उपक्रममा उसले विभिन्न प्रयत्न गर्छ र यसका लागि विभिन्न मानिसको सहयोग उसलाई आवश्यक पर्छ । यस्तै गाउँको विकास गर्ने कुरामा पनि धनी परिवार र गरिब परिवारबीच असमान दृष्टिकोण हुन्छ । यसलाई हामीले चिन्न जरूरी छ । एउटाले केही गर्न लाग्दा सबै खनिएर त्यसलाई पुरा गर्नभन्दा पनि अवरोध गर्ने प्रवृत्तिले अन्ततः कसैलाई पनि फाइदा पुग्दैन । कसैले बिरूवा रोपिरहेको छ भने उसलाई सहयोग गरे भोलि उसले अवस्य आफूलाई पनि घाँस दिने नै छ ।

    198848101_328930001937064_9055957930165295542_n.jpg

    दूर्भाग्य नै भन्नुपर्छ हामीबाट एकले अर्कालाई सहयोग गर्ने परिपाटी हराउँदै गएको छ । यसले आपसी पारिवारिक मात्र होइन, सामाजिक संरचनामा नै असर पुर्याइरहेको हुन्छ । कसैलाई पूर्वाग्रहरी रूपमा कपटी ठान्ने, कसैलाई देउता र सभ्य ठान्ने र कसैलाई पाखे र जङ्गली सोच्ने प्रवृत्तिले हाम्रो पुरानो पुस्ताको उदारतालाई त सखाप बनाएर समाजलाई सङ्कुचित बनायो भने यसको अवशेषले नयाँ युवापुस्तालाई पनि क्रमिक रूपमा सिध्याउन लागि रहेको छ । त्यसैले हामी एकअर्कालाई सम्मान र आदरका साथ हेरौं, सुनौं र मनन् गरौं आफैंलाई सर्वज्ञाता ठान्दा कसैले दिएको अमूल्य सुझाव उम्कन सक्छ ।

    विवेकबिनाका राजनीतिक दलका भुत्ते सिद्धान्तले गाउँलाई प्रभावित बनाएको छ । जसरी बालुवाटार र सिंहदरबारमा राजनीतिक नेताहरूको झिनाझपटी चलिरहेको छ हामी आपसमा पनि यस्तै प्रकारको मतभेद हुनु दुःखद हो, किनभने सबै र सधैं नेताहरू पनि सही नहुनसक्छन्, उनीहरूकै नक्कल गर्दै गाउँमा प्रस्तुत हुँदा त्यसले सामाजिक विचलन ल्याउँछ ।

    सोचको विकासका लागि अध्ययन, विमर्श र छलफल हुन्छ । अध्ययन गर्नु भनेको किताब पढ्नु मात्र होइन, व्यवहारहरूको मिहिन अवलोकन, छलफल र विमर्श गर्नु हो । यसका लागि हामीसँग कुनै स्थान छ कि छैन ? के हामीले सामाजिक विषयमा छलफल गरिरहेका छौं ? छलफल भइहाले पनि कसको घरमा के छलफल भयो ? यसबारे पूर्वानुमान गरेरै धारणा बनाउने एउटा प्रवृत्ति पनि देखिन्छ, यसको अन्त्य गर्दै समाजका हरेक विषयमा स्वस्थ्य छलफल र विमर्श गरिनुपर्छ ।

    हामी युवाले कुनै व्यक्तिले गरेको प्रगतिको डाह गर्नेमा मात्रै हामीले ध्यान दिँदा आफ्नो सोचाइको विस्तार त हुँदैन, व्यक्तिगत रूपमा भौतिक प्रगति त होला तर सिङ्गो गाउँका लागि त्यो हितकर हुँदैन । यस्तो व्यक्तिवादी र निम्नस्तरको सोचले गाउँमा आर्थिक समानताको खाडल बढाउँछ, यस्तो सोचले वर्ग जन्माउँछ र त्यहाँ कम हुनेले धेरै हुनेको चोर्ने वा खोस्ने प्रवृत्तिको विकास हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा सर्वहारा वर्गले सामान्त वर्गमाथि गरेको आक्रमण र लाखौं जनधन क्षतिको मुख्य कारक यस्तै व्यक्तिवादी चिन्तनको नै हो । त्यसैले युवाले अन्तर्राष्ट्रिय स्तरमा भएका वैज्ञानिक आविष्कार, भूगोल, भूखण्ड र भूगर्भबारेमा विमर्श गर्न जरूरी छ । विमर्श गरेर मात्र के हुन्छ ? विमर्शले खान दिँदैन भन्ने प्रश्न पनि उठ्ला तर हामीले बिर्सन हुँदैन निरन्तर विमर्श र चिन्तनकै कारण थोरै श्रम र थोरै जमिनमै अधिक उत्पादन गरेर युरोप, अमेरिका, चीन र भारतजस्ता देश धनी भएका हुन्, यो हामीलाई थाहा भएकै सामान्य तर ममन्योग्य कुरा हो ।

    अबको काम

    माथि पनि भनियो, खानेपानी पर्याप्त मात्रामा उपलब्ध नहुँदा पानीकै विषयलाई लिएर छिमेकी आपसमा झगडा भएर बोलचाल नै नहुने अवस्था पनि उत्पन्न हुने गर्छ । खानेपानीको एकीकृत स्रोत नहुँदा छुट्टा–छुट्टै मुहानबाट पानी ल्याइँदा पानी वितरण समान मात्रामा हुन सकेको छैन । यसैले खानेपानीको स्रोतको विकास गनुपर्ने छ ।

    गाउँमा इन्टरनेटको भरपर्दो अवस्था छैन । केही घरमा वाइफाइकै सुविधा भए पनि बिग्रिएको बेला मर्मत गर्न समयमै प्राविधि आइपुग्नका लागि जनशक्ति अभाव छ । सुचनाका स्रोतको स्वरूप र प्रकृति फेरिएको अहिलेको अवस्थामा घरमा इन्टरनेट हुनु अनिवार्य नै भइसकेको छ । समाचार सुन्न बिहान ६ बजे वा ७ सात वा बेलुका ८ बजे पर्खनुपर्ने अवस्थामा पनि समयअनुसार परिवर्तन आउँदैछ, यसलाई हामीले स्वीकार्दै जुनसुकै बेला पनि अनलाइन पोर्टलमार्फत समाचार पढ्ने, सुन्ने, हेर्ने गर्दा समयलाई आफूअनुकूल प्रयोग गर्न सकिन्छ । तर इन्टरनेट र सामाजिक सञ्जालले निम्त्याउनसक्ने खराब पक्षबारे पनि हामी सचेत हुनैपर्छ ।

    फेसबुक चलाउन थालेपछि एकघन्टा, दुईघन्टा गएको थाहै नहुने अवस्था आउनु पक्कै राम्रो होइन, यस्ता नकारात्मकभन्दा इन्टरनेटका सकारात्मक फाइदा नै बढी छन् हामीले सदुपयोग गर्न सक्नुपर्छ । यस्तै गाउँमा एउटा पुस्तकालय हुन जरूरी छ । चट्ट बाँसले बेरेर र सिरूले छानो छाएर एक पटकमा ५, ६ जनाले अवलोकन गर्न मिल्ने प्रकारको पुस्तकालय हामीले बनाउन सक्छौं । त्यहाँ केटाकेटीले पढ्ने कमिक्स (चित्र कथाका किताब) देखिलिएर युवा, प्रौढ सबैले पढ्न सक्ने आवश्यक किताबहरू राख्न सकिन्छ । पुस्तकालय बनाउन सबैको सहयोग जुट्छ नै ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology