Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अनि कोरोनामुक्त भयौं

अनि कोरोनामुक्त भयौं

  • जेठ २९, २०७८ शनिवार ११:५५ बजे
  • 2.5K
    SHARES
  • अनि कोरोनामुक्त भयौं

    जेष्ठ ३ गतेको रात मेरा लागि अत्यन्तै कष्टकर रह्यो । सामान्य रूपमा खाना खाएर सबै धन्ना सकेर म लगभग ११ बजेतिर सुतेकी थिएँ । सुतेको त्यस्तै आधा घण्टा जति भएको थियो मलाई पानी तिर्खा लागेजस्तो, जिउ सबै तातेजस्तो अनुभव भयो ।

    images

    म उठेँ; थोरै पानी खाएँ र सुतेँ । त्यसपछि त झनै गाह्रो भयो । पूरै शरीर पोलेजस्तो भयो; छटपटि भयो; निद्रा लागेन । हँ..हँ.. गर्न पुगेछु । स्वामी माया भन्दै आउनुभयो । तिमीलाई त साह्रै ज्वरो पो आएछ । मलाई कोरोना  नै भएको रहेछ  । अगि १०ः३० बजे मेल आएको थियो । तिमीलाई भोलि भनौँला'भनेर म सुतेको । तिमीलाई पनि सर्यो जस्तो छ । म आउँदिन भनेको कसैले मानेनन् ।

    स्वामी लकडाउनको कारण वैशाख १५ गतेदेखि कार्यथलो (नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल) मै बस्नुभएको थियो । १७ गतेदेखि उहाँलाई खोकी लागेको थियो । सधैँ फोन गर्दा उहाँले खोकेको त्यो सुक्खा खोकीले मलाई कतै कोरोनाको लक्षण त हैन भनेर डर लागिरहेको थियो ।

    भिडियो कल गर्दा अनुहार पनि अलि फरक देखिन्थ्यो । सन्चो छैन जस्तो छ हजुरलाई घर आउनु । काम त पछि पनि गर्न मिल्छ नि ! नसकी कसकी गर्नहुन्न भनेर मैले भन्दा, हामी १६ गते रासन किन्न बिग मार्टमा गएका थियौँ । ट्रली मैले नै झिकेको थिएँ । सामान किनेर हामी आयौँ । मलाई त्यसपछि खोकी लाग्न थाल्यो । त्यहाँबाट सरेछ कि । पख न केही दिन;  छोरो सानै छ; मलाई लागेकै रहेछ भने तिमीहरू दुवैलाई सर्छ भन्नुभयो ।

    मैले अरूको खबर सोधेँ । सबैको ठीक छ भन्नुभयो । खोकीको औषधि किनेर धेरैदिनसम्म खाँदा पनि ठीक नभएपछि मलाई लागेको डर साँच्चै रहेछ भन्ने पुष्टि भयो । मैले घर आउनु छुट्टै बस्नुहोला । यहाँ सजिलो हुन्छ । त्यहाँ पनि अरूलाई सर्यो भने गाह्रो हुन्छ भनेँ । मैले हिजोआज यहाँ कसैलाई छोएको छैन । टाढै बसेको छु । अलिअलि जिउ दुख्या,  खोकी लाग्या त हो नि भन्दै नआउने कुरा गर्नुभयो । जिउ पनि दुःखेको भनेपछि म आत्तिएँ ।

    कहाली लाग्दा समाचार सुन्दा-सुन्दा मन डराउन थालिसकेको थियो । मैले आउनु भनेको मान्नुभएन । त्यहाँ बसेर ठीक हुन्न । हजुर घर जा भनेर गाली गर्नु न आमा भनेर गाउँमा आमालाई फोन गरेर भनेँ । घरबाट तारन्तार बुबा, आमाले फोन गरेर घर जा त्यहाँ बसेर ठीक हुन्न भनेर भन्नुभएपछि उहाँ ३० गते घर आउनुभयो ।

    १५ दिनपछि बुबालाई देख्दा छोरो दङ्ग पर्यो  । बुबा बिरामी हुनुहुन्छ । छुन हुन्न है भनेर सम्झाएँ । हस् भनेर खेल्न थाल्यो । मैले पानी तताइदिएँ । स्वामीले नुहाउनुभयो । त्यसपछि खाना खानुभयो । औषधि पकाइदेऊ भन्नुभयो र सुत्नुभयो । अनुहार थकितजस्तो देखिन्थ्यो । सुक्खा खोकी लागिरहेको थियो । नरदेवी आयुर्वेदिक अस्पतालबाट अश्वगन्धा चूर्ण, जेठीमधु चूर्ण, आमलकी चूर्ण, त्रिकुट चूर्ण, गुडुची चूर्ण मिसाइएको कोरोनाको धुलो औषधि र खोकीको लागि सितोपलादि चूर्ण ल्याउनुभएको रहेछ ।

    पहिला कोरोनाको औषधि पकाएर दिएँ । त्यसपछि खोकिको औषधि सितोपलादिमा मह मिसाएर दिएँ । जिरा, ज्वानो, ल्वाङ, दालचिनीलगायतका सामग्रीहरू हालेर पकाएर केही बेरमा दिएँ । म बुबालाई छुन्न । कानमा बिस्तारै कुरा गर्छुृ है भनेर छोरो खाटको छेउमा उभिएर बुबा भन्दै थियो । कतिखेर एउटै सिरकभित्र पसिसकेछ मैले थाहा नै पाइनँ । उहाँको पनि त्यतिखेरै आँखा लागेछ । मैले देखेपछि हाँस्दै सिरक बाहिर निस्केर अर्को कोठामा दौडियो । ५ वर्षको बच्चा के मान्थ्यो । ३१ गते वडामा नाम टिपाएर नेपाल ए.पि.एफ अस्पताल, बलम्बुमा जेष्ठ १ गते कोरोना परीक्षण गर्न जानुभयो ।      

    स्वामीको कोरोना पोजेटिभ भएको रिपोर्ट आएकै रात हनहन ज्वरोले मलाई सिकिस्त पा¥यो । रातको ३ बजेसम्म ज्वरो १०१ डिग्रीबाट नझरेपछि मैले सिटामोल खाएँ । मलाई पनि कोरोना लागेको रहेछ भने छोरोलाई पनि लाग्छ भन्ने चिन्ता लाग्यो । हामीले जानाजान एकअर्कालाई छोएका थिएनौँ । शौचालय चाहिँ तीनैजनाले एउटै प्रयोग गर्नुको विकल्प थिएन । मास्क पनि लगाएकै थियौँ ।

    छोरोले चाहिँ झुक्याएर कहिलेकाहिँ बुबालाई छुन्थ्यो । मलाई ज्वरोमात्र आएर ठीक भए हुन्थ्यो भन्ने लाग्यो । बिहान स्वामीजीले जिरा पानी पकाएर ल्याउनुभयो म सुतिरहेको थिएँ । रातभरी नसुतेको म के उठ्न सक्थेँ र । उहाँ पनि बेलाबेलामा आएर थर्मोमिटरले ज्वरो परीक्षण गरिरहनुभएको थियो । तर पनि उठेर पानी ल्याउनुभएछ । अघिल्लो दिनसम्म मैले पकाएर खुवाइरहेको थिएँ । अब त उहाँलाई पनि पोजेटिभ देखिएको छ । छोरो बिहान ढिला उठ्छ । म उठ्न खोजेँ सकिनँ ।

    पानी खाएर म फेरि सुतेँ । ज्वरोको औषधिले छोड्दै गएपछि मलाई गाह्रो हुन थाल्यो । औषधि खाएको चार घण्टामात्र भएको थियो । स्वामीले जाउलो पकाएर ल्याउनुभयो । मलाई खानै मन थिएन । वाकवाक आउलाजस्तो भइरहेको थियो । खानुपर्छ नखाए त झन गाह्रो हुन्छ । कोरोना लागेको रहेछ भने त जसरी हुन्छ खानै पर्छ भन्नुभयो । मैले आँखा चिम्लेर जबरजस्ती निलेको मात्र थिएँ ।

    सुरुमा निकै गाह्रो बनाए पनि श्वासप्रश्वासमा समस्या र कुनै दीर्घ रोग नभएको कारण हामी अस्पताल गएनौँ । आत्मविश्वास, खानेकुरामा विशेष ध्यान, नियमित औषधि सेवनले कोरोनाबाट हामीले मुक्ति पायौँ । दीर्घ रोग हुनेहरू, श्वासप्रश्वासमा समस्या हुनेहरू चाहिँ अस्पताल गई उपचार गर्नुहोला ।  

    सबै गयो । बान्ता गरेपछि त जिउ गलेर छटपटी भयो । म एक ठाउँमा बस्नै सकिनँ । लुगालेसमेत जिउ घोचेजस्तो भयो ।  म कहिले खाटको माथि त कहिले तल गर्न थालेँ । छोरो उठेको केही समय भएको थियो । उसले मैले गरेका गतिविधि सबै हेरिरहेको थियो । म ज्वरोको औषधि खाएर सुत्न कोसिस गरिरहेको थिएँ । फेरि उहाँले खाना ल्याउनुभयो । जबरजस्ती खाएँ । त्यो पनि सबै गयो । सन्चो नभएको स्वामीलाई ठीक पार्न बोलाएको आफैलाई उहाँले पकाएर खुवाउन पर्यो जस्तो लाग्यो । उहाँ पनि म नआएको भए तिमीलाई यस्तो हुन्न थ्यो । छोरोलाई पनि ज्वरो आयो भने के गर्ने भन्दै हुनुहुन्थ्यो ।

    मैले त्यस्तो नसोच्नु न मलाई ठीक भैहाल्छ नि भनेँ । छोरोलाई खुवाउनु आफू पनि खानु भनेर म सुतेँ । दिनभरीजस्तै जे खायो त्यही सबै बाहिर आएको देखेपछि उहाँले मलाई हिँड अस्पताल जाउँ भन्नुभयो । तीनजना छौँ । हजुरलाई पनि पोजेटिभ देखाएको छ । छोरोलाई लैजान हुन्न । कसरी जानु नि भनेँ । सानिमाले फोन गर्नुभयो ।

    बोल्दाबोल्दै मलाई बान्ता भयो । उहाँ नजिकै हुनुहुन्थ्यो । तर, घरमा आउने अवस्था थिएन । सानिमाले मेरो अवस्था देखेपछि तिमीलाई कोरोना नै लागेको हो भन्नुभयो । साँझतिर सानोबुबाले भिटामिन सि, भिटामिन डि, जिङ्क, सिटामोललगायतका औषधीहरू गेटमा छोडेर जानुभयो । कोरोेनाले मानवको जीवन कस्तो डरलाग्दो बनायो ।

    एकअर्काको साथले जस्तोसुकै समस्या समाधान हुन्छ भन्थे । कोरोनाको समस्या चाहिँ एक्लैले समाधान गर्नुपर्ने रहेछ भन्ने कुरा मेरो मनमा आयो । मैले पनि स्वामीले ल्याउनुभएको औषधी र सानोबुबाले ल्याइदिनुभएको औषधी खान थालेँ । अघिल्लो दिनसम्म छोरो र म एउटा कोठामा र स्वामी अर्को कोठामा सुत्थ्यौँ । एकजना पोजेटिभ, अर्को उठ्न नसक्ने अवस्था भएपछि छोरोलाई सँगै सुताउन हुन्नजस्तो लाग्यो ।

    हुन त उसले हामीलाई दिउँसो नछोएको होइन । खुवाउन, लुगा फेराउनजस्ता कार्य हामी आफैले गरिदिनुको विकल्प पनि त थिएन । किनकि ऊ सानै छ । दिउँसो माक्स लगाएर छुनु र राती सँगै सुत्नुमा फरक पर्छजस्तो लाग्यो । दिनभरी मास्क लगाउन, रातभरी पनि मास्क लगाउन गाह्रो हुन्थ्यो । हामीले सम्झाएपछि छोरो पनि छुट्टै खाटमा सुत्न राजी भयो ।

    आजसम्म उसलाई एक्लै सुताउनु परेको थिएन । स्वामी र छोरो एउटा कोठाको छुट्टै छुट्टै खाटमा र म अर्को कोठामा सुत्यौँ । मलाई निद्रा लागेन । बेलाबेलामा छोरोलाई हेर्दै सुत्दै गरेँ । दुईबजेसम्म म निदाएकी थिइनँ । त्यसपछि म निदाएछु । चारबजेतिर छोरोले बुबा मलाई डर लाग्यो त्यहीँ आउँछु है भनेछ  र एउटै खाटमा भित्तापटि फर्किएर सुतेछ । आठबजेतिर उठेर ममी मलाई डर लागेर बुबासँग सुतेको नि भन्दै उसले हजुरलाई बिसो भो भनेर मलाई सोध्यो । मैले छैन बिसो हुँदैछ छोरो भनेँ ।

    त्यसपछि उसलाई राती मैले मेरै खाटमा आफू छेउमा र उसलाई कुनामा सुताएँ । छुनहुन्न है कोरोना सर्छ भनेकी थिएँ । उसको मेरो कान समातेर सुत्ने बानी थियो । त्यो उसले आफै हटायो । अहिले पनि ऊ कोरोना सर्छ भनेर धेरै नजिक पर्दैन । सुत्दा कुनापटि फर्किन्छ ।  स्वामीको बास्ना हराएको निकै भइसकेको थियो । मेरो पनि बास्ना हरायो । मलाई गाह्रो भएको पाँच दिनको राती छोरोलाई पनि ज्वरो आयो ।

    फेरि अर्को डर थपियो । मैले यस्तो समय छ । ज्वरो आयो भने खुवाउनुपर्छ भनेर फ्लेकजोन ल्याएर राखेकी थिएँ । राती एक बजेतिर उसलाई फ्लेकजोन खुवाएर सुताएँ । भोलिपल्ट उसले पनि बान्ता  गर्यो । ल अब तिनैजनालाई लाग्यो । छोरोलाई गाह्रो भयो भने के गर्ने होला भन्ने भयो । दुईपटक बान्ता गरेपछि रोकियो । उसलाई थोरै जाउलो र औषधी खुवाएर सुतायौँ । लगातार चारदिन औषधी खुवाएपछि ऊ पहिलेकै अवस्थामा फर्कियो ।

    मैले भगवान्लाई मनमनै धन्यवाद दिएँ ।  मैलाई भने  निकैदिनसम्म जिउ दुःख्ने, खोकी लाग्ने, साह्रै कमजोरी भएको महसुस हुने, खाना मिठो नहुने, फोनमा बोल्न मन नलाग्ने, घाँटीमा छुट्टै खालको नमिठो राग आउने  भइरह्यो । स्वामीलाई चाहिँ खोकीबाहेक लगभग ठीक भइसकेको थियो । उहाँलाई पनि सुरुमा यी सबै लक्षणहरू देखिएको थियो रे । हामीले  औषधीमा अम्बाका पात, जिरा, दालचिनीलगायतका घरेलु औषधी पकाएर, नरदेवीबाट ल्याएको आयर्वेदिक औषधि पकाएर, मेडिकलबाट ल्याएको एलोपेथिक औषधि निरन्तर खायौँ ।

    खानेकुरामा उमारेका गेडागुडी, मुङको दाल, जाउलो, जीवनजल, दुध आदिलाई निरन्तरता दियौँ । घरको छतभन्दा बाहिर कतै निस्किएनौँ । मलाई दशदिनपछि चार दिनसम्म लगातार दिशा लाग्यो । त्यसपछि अलि सजिलो भएको महसुस भयो । जेष्ठ १८ गते उहाँको र जेष्ठ १९ गते मेरो कोरोना परीक्षण गर्दा नेगेटिभ आयो ।

    दुवै खुसी भयौँ । कामबाट बोलाए पनि उहाँको खोकी अझै पूरा ठीक भएको थिएन त्यसैले केही दिन आराम गर्नुपर्छ भनेर मैले जान दिइनँ । एजिथ्रोमाइसिन नामकोे पर्यो ३ दिन खाएपछि उहाँलाई खोकी ठीक भयो । त्यसपछि हामीले करेसाबारीमा तरकारी लगायौँ । अहिले उहाँ कामका फर्किनुभएको छ । म र छोरो घरमा छौँ । हामी पूर्ण रूपमा ठीक भइसकेका छौँ । कोरोना सामान्य रोग होइन ।

    सुरुमा निकै गाह्रो बनाए पनि श्वासप्रश्वासमा समस्या र कुनै दीर्घ रोग नभएको कारण हामी अस्पताल गएनौँ । आत्मविश्वास, खानेकुरामा विशेष ध्यान, नियमित औषधि सेवनले कोरोनाबाट हामीले मुक्ति पायौँ । दीर्घ रोग हुनेहरू, श्वासप्रश्वासमा समस्या हुनेहरू चाहिँ अस्पताल गई उपचार गर्नुहोला ।  

    कोरोरा लागेर पुनर्जीवन प्राप्त गर्नुभएका विश्वका सम्पूर्ण मानिसलाई बधाई छ । कोरोना लागेर महाप्रस्थान गर्नुभएका विश्वका सम्पूर्ण मानिसलाई श्रद्धासुमन व्यक्त गर्दछु । कोरोना लागेर उपचार गरिरहनुभएका सम्पूर्णलाई स्वास्थ्य लाभको कामना गर्दछु । 

  • सम्बन्धित विषय:

  • # सरस पाण्डे

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology