Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

  • 136
    SHARES
  • सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

    काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

    लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन ।

    भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन ।

    उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक-पटक देखाएको भन्दै हार्दिक बधाइ दिए ।

    ‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ’, मन्त्री किरातीले भने, ‘उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।’

    सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिए । ‘आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै-धेरै धन्यवाद दिन चाहन्छु’, बुढाले भने, ‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।’

    उनले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij