Logo

२०८०, फाल्गुण १५ गते मंगलवार

२०८०, फाल्गुण १५ गते मंगलवार

नीलगिरि जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

नीलगिरि जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

  • 132
    SHARES
  • नीलगिरि जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

    म्याग्दी । म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

    images

    अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन ।

    २०७६ देखि शुरु भएको दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । नीलगिरि हाइड्रोपावरका इन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युतगृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिए ।

    ‘दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ,’ इन्जिनियर तामाङले भने, ‘भौतिक संरचनालाई अन्तिम रुप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छौँ ।’

    नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिए ।

    नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ ।

    क्यासकेडको विद्युतगृह दोभानदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाड र विकट क्षेत्रमा दुई वर्ष लगाएर १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको थियो । आगामी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका ईञ्जिनियर केशव वाग्लेले बताए ।

    ‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठुलो चुनौती थियो,’ आयोजनाका ईञ्जिनियर वाग्लेले भने, ‘हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पुर्‍याउन सफल भएका छौँ ।’

    आयोजनामा हाल पाँच सय जना प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छन । यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् ।

    कठिन भीरपहरा छिचोलेर आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ । भौगोलिक विकटता, हिउँद याममा हिमपात हुँदा काम गर्न नसक्नु र कोरोना महामारी यो आयोजना निर्माणमा देखिएका चुनौति हुन ।

    निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठुलो आयोजना हो । पहाडको खोचमा आयोजनाका संरचना निर्माण भएका छन । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन ।

    नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सब स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा-दोबिल्ला हुँदै दाना सबस्टेशन जोड्ने ८.५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology