Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

  • 208
    SHARES
  • गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा
    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन ।
     
    गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्विर प्रदर्शनीको आज उद्घाटन गर्दै गणतन्त्रमा केही कमीकमजोरी भएपनि पछाडि फर्किन नसकिने बताएकी हुन ।
     
    ‘अब पछाडि फर्किंने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ, तर विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ’, मन्त्री शर्माले भनिन् ।
     
    वर्तमान शासकीय व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गर्दै मुख्य उपलब्धिलाई संस्थागत गर्नुको विकल्प नहुने मन्त्री शर्माको भनाइ छ ।
     
    सरकारका प्रवक्ता शर्माले भनिन्, ‘गणतन्त्र दिवस मनाउने अवस्थामा हामी कसरी आइपुग्यौँ ?, २००७ सालदेखि यहाँसम्म आइपुग्दा कस्ता-कस्ता आन्दोलन भए, के-कति त्याग, बलिदान भए यी सबै विभिन्न खालका संघर्षलाई पनि हामीले भुल्नु हुँदैन ।’
     
    गणतन्त्र सजिलै प्राप्त नभएको भन्दै उनले गणतन्त्र प्राप्तिअघि अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता नभएको अवस्था सम्झिँदै अग्रजहरूले गणतन्त्रका निम्ति गरेको कठिन संघर्ष बिर्सिन नहुनेमा जोड दिइन् ।
     
    मन्त्री शर्माले गणतन्त्र प्राप्तिका निम्ति महिला, आदिवासी जनजाति, मधेसी, दलित र उत्पीडितलगायत सम्पूर्ण सिमान्तकृत समुदायले गरेको योगदानको कदर गरिन् । सरकारले यसपटकको गणतन्त्र दिवस विगतकोभन्दा फरक ढंगले समीक्षासहित तीन दिनसम्म मनाउने योजना रहेको बताइन् ।
     
    मन्त्री शर्माले भनिन्, ‘यसपटक सरकारले भव्यताका साथ तीन गणतन्त्र दिवस मनाउने योजना बनाएको छ, सरकार समीक्षासहित गणतन्त्र दिवस मनाउन चाहान्छ, परम्परागत ढंगले मनाउनु र हिजोका हाम्रा राजाले जन्मोत्सव मनाउनु एउटै होइन, यो फरक हो ।’
     
    गणतन्त्रमा भएका कमी कमजोरीलाई आधार बनाएर अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतासँग जोडिएको गणतान्त्रिक व्यवस्थामाथि चारैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले टिप्पणी गरिन् ।
     
    गणतन्त्र प्राप्तिका लागि आमनागरिकका सपना र अपेक्षा, गणतन्त्रपछि सरकार सञ्चालन गर्ने क्रममा निर्माण गरेको भूमिका र ती भूमिकामा भएका कमीकमजोरीलाई लिएर र त्यसमाथि हुने गरेका गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij