Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

लुम्बिनीमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा

लुम्बिनीमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा

  • 164
    SHARES
  • लुम्बिनीमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा

    बुटवल । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ ।

    images

    बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको अन्तर्क्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीका विषयमा भनाइ राख्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उक्त तथ्यांक प्रस्तुत गरेका हुन ।

    उनले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको जनाउँदै वैदेशिक लगानी पहिलो रोजाइ सेवामूलक, उत्पादनमूलक र पर्यटन क्षेत्रमा रहेको भनाइ राखे ।

    त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला आठ सय ८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब एक लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको उनले जानकारी गराए ।तराईका छ र पहाडका छ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार दुई सय ८८ वर्ग किमी छ ।

    यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिकरूपमा धनी प्रदेशकारूपमा रहेकाले कृषिजन्य तथा वन पैदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको अध्यक्ष कसजुलले बताए ।

    उनका अनुसार राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ । लुम्बिनीमा दुई औद्योगिक क्षेत्र र भैरहवामा विशेष आर्थिक क्षेत्र रहेका छन ।

    त्यसबाहेक भैरहवा-लुम्बिनी, बुटवल-भैरहवा, भैरहवा-परासी, परासी-भुमही मुख्य औद्योगिक करिडोर रहेका छन । यी करिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कूल उद्योगको ५० प्रतिशत उद्योग रहेका छन ।

    त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र र बाँकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका छन । यी औद्योगिक क्षेत्रको निर्माण र सञ्चालनको ढिलाइले उद्योग विस्तार तथा वैदेशिक लगानीमा तीव्रता आउन नसकेको उनको भनाइ छ ।

    त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भएपनि नीतिगत अस्पष्टताका कारण पर्याप्त लगानी आकर्षण हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको लगानी योग्य पुँजीको अभाव एवम् ब्याजदरमा भएको अस्वाभाविक वृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न मुस्किल भएको बताए ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)का प्रमुख, आवासीय प्रतिनिधि बाबाकर एस फेइले आइएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशमा बजार र अवसर सिर्जना गर्न पुँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सयभन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराए ।

    यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवा विद्युत्, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाई जस्ता पूर्वाधार परियोजना विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग-अग्रणी विशेषज्ञता प्रदान गर्ने छ ।

    उनका अनुसार आइएफसी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा चार सय ५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो । त्यो नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो । सो कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology