Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी : सभामुख घिमिरे

सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी : सभामुख घिमिरे

  • 205
    SHARES
  • सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहजरूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताए ।

    आज दुप्चेश्वर गाउँपालिका-६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्दै जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताए ।

    काठमाडौंको टोखा हुँदै नुवाकोट आएका सभामुख घिमिरेले भने, ‘टोखा-छहरे सुरुङमार्ग निर्माणको कुरा धेरै सुनिएको छ । सुरुङमार्ग चाँडो निर्माण हुनु आवश्यक छ । सुरुङमार्ग निर्माण भएमा नुवाकोटको कायापलट हुनेछ ।’

    सभामुख घिमिरेले इलामका किसानको जीवनस्तर उकास्न अलैँची, अदुवा खेतीको भूमिका भएको जस्तै नुवाकोटका किसानको जीवनस्तर उकास्न पनि सुरुङमार्गको भूमिका हुने बताए ।

    उनले सुरुङमार्ग सुरुमा धेरै खर्च लाग्ने भए पनि यसले दीर्घकालीन फाइदा दिने भएकाले निर्माण आरम्भ गर्नका लागि सबैको ध्यान जानुपर्ने बताए ।

    उनले नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितको योगदान उच्च रहेको बताए ।

    शिक्षासेवी, राजनीतिज्ञ, वाम लोकतान्त्रिक आन्दोलनमा अगुवा पण्डितको शैक्षिक तथा भौतिक विकासको सपना पूरा गर्न सकेमात्र उनीप्रति उचित सम्मान हुने उनले धारणा व्यक्त गरे ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको पूर्वी भेगको राजनीतिक जागरण र शैक्षिक जागरणमा गणेश पण्डितको योगदान उल्लेखनीय रहेको बताए ।

    नेकपा माओवादी केन्द्रका नेता तथा सांसद हितबहादुर तामाङ, सांसद विमला सुवेदी, बाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ, एमालेका पूर्वसांसद नारायणप्रसाद खतिवडालगायतले पण्डितले जिल्ला र राष्ट्रको विभिन्न क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेको थियो ।

    एक दशकभन्दा लामो समय जिल्लाको पूर्वी भेगका विभिन्न विद्यालयमा शिक्षक भएर काम गरेको पण्डित वि‍‍.सं २०४२ को बमकाण्डमा पक्राउ परी १४ महिना जेल परेएको थिए ।

    वि.सं २०४८ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका वामपन्थी नेता पण्डितको २०७६ सालमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

    पण्डित २००३ सालमा शिखरबेँसीमा जन्मिएको थियो । गणेश पण्डित स्मृति केन्द्रको अगुवाइमा उनको सालिक निर्माण गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij