काठमाडौं । सरकारले कोभिड-१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा २०२३/२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा पेश गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार प्रर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशक कार्यान्वयनमा रहेको छ ।
नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६/२०२५’ ले २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने लक्ष्य लिएको छ । कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिर्दै गएको छ ।
स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण २०२०/२०२१ मा पर्यटक आगमन सङ्ख्या क्रम दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो ।
यद्यपि, २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ ।
२०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट संकलन भएको विदेशी मुद्रा १९०।० प्रतिशतले बढेर कूल ४६ अर्ब ७६ करोड पुगेको छ ।
पर्वतारोहण दलको सङ्ख्या २०२२ को अन्त्यसम्म एक हजार नौ सय ५२ पुगेको छ । हिमाल पर्वतारोहीको सङ्ख्या २०२० मा चार सय ४७ र २०२१ मा तीन हजार चार सय ४६ रहेकोमा २०२२ मा आठ हजार चार सय ६८ पुगेको हो ।
पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी वृद्धि भएको छ । रोयल्टी २०२२१ मा ६३ करोड ५२ लाख ४९ हजार संकलन भएकोमा २०२२ मा रु ७० करोड ३४ लाख ३० हजार पुगेको छ ।
चालु आवको फागुनसम्म सबै प्रकारका होटल शय्याको सङ्ख्या ३७ हजार ३० पुगेको छ । असारसम्म २४ क्यासिनो सञ्चालनमा छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology