Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

चिकित्सकको राम्रो व्यवहारले रोगसँग लड्न हौसला दिन्छ

चिकित्सकको राम्रो व्यवहारले रोगसँग लड्न हौसला दिन्छ

  • 2.4K
    SHARES
  • चिकित्सकको राम्रो व्यवहारले रोगसँग लड्न हौसला दिन्छ

    दुई दशकभन्दा अगाडि सुगरको लक्षण देखिएपछि वीरगञ्जको एउटा निजी क्लिनिकमा जचाउँन जाँदा एमबिबिएस वा सोभन्दा माथि पढेका डाक्टरसँग परीक्षण गराएर औषधी खाइयो । त्यसअघि चिकित्सा शिक्षासँग सम्बन्धित आधारभूत पढाइ गरेर गाउँ घरतिर औषधी पसल खोलेर बस्नेलाई नै डाक्टर मानेर सानोतिनो बिमारीको उपचार गराउँदै आइएको थियो । झाडापखाला, ज्वरो, टाउको दुखेको, पेनकिलर र कहिलेकाँही एन्टिबायोटिक पनि गाउँकै डाक्टरको सिफारिमा खाएर रोग निको पार्ने गरिएको थियो । सुगरको हकमा गाउँका डाक्टरले नसक्ने भएपछि शहर पुगेर पढेका डाक्टर (विज्ञ)सँग जचाउनु परेको थियो । 

    images

    एकताका पढेको भारतीय लेखक पि साइनाथको पुस्तक ‘तीसरी फसल’ मा गाउँतिरका डाक्टरको बारेमा लेखिएको थियो । कसैको औषधी पसलमा केही दिन काम गरेकै भरमा गाउँमा डाक्टर बनेका केही व्यक्ति बारेको प्रसंग थियो । सम्भवत नेपालका पनि कुना कन्दरामा त्यही तीसरी फसल मार्काका डाक्टरले उपचारकाे जिम्मा धानेको पनि हुनसक्छ । किराना पसलमै सिटामोल र पेनकिलर राखेको त कतिपय ठाउँमा मैले नै देखेको छु । देशको सिस्टम खराब भइसकेपछि जताततै विकृति हुनु स्वभाविक पनि हो ।

    हुन पनि एकपटक मैले चिनेकै एक जनालाई सामान्य औषधीले निको नभएपछि गाउँका डाक्टरले निकै कडा एन्टिबायोटिक दिएछन् । त्यसले पनि निको नभएपछि बाध्य भएर जचाउँन काठमाडौं आएका उनमा टिबी प्रमाणित भयो । टिबीको नियमित औषधी खाएपछि बल्ल उनी निको भए । गाउँमै बसेर कडा एन्टिबायोटिक खाइरहेको भए के हुन्थ्यो होला ? 

    मलाई सुगरको औषधी वीरगञ्जकै डाक्टरले चलाइदिए । वीरगञ्जका डाक्टरलाई जचाउँदाको अनुभव नमिठो नै रह्यो । रगत जाँच त गरे । त्यसबाहेक लामो स्वास लिनु भन्दै छातिमा आला राखे । जब लामो स्वास लिन थाल्छु उनले आला हटाइसकेका थिए । जिब्रो देखाउनु भने, मुख खोल्न नपाउँदै जिब्रो हेर्दै नहेरी घोप्टेर औषधी लेख्न थाले । 

    मलाई मनमा शंका भइराख्यो । न जिब्रो हेरे न त आला लगाएर लामो स्वास लिँदाको अवस्था सुने । केही नगरी औषधी लेखेपछि मनमा शंकाको भाव भइ नै रह्यो । के रैछ डाक्टर साव ? भनेर सोध्छु फिटिक्कै उत्तर दिँदैनन । बोल्दा पनि पैसा पर्ला जस्तो व्यवहार भयो उनको । उनकोमा जचाउने लामो लाइन भएकाले भ्याइनभ्याइ थियो । डाक्टरले केही उत्तर नदिएपछि यति लामो अनुभव भएका डाक्टरमा मान्छे हेरेरै रोग पत्ता लगाउने क्षमता विकास भइसकेको हुनसक्छ भनेर चित्त बुझाएँ । त्यसयता सुगरको नियमित जाँचका क्रममा ती डाक्टरको त्यही व्यवहार कायम नै रह्यो । मलाई मात्र नभएर अरु बिरामी जाँच्दा पनि उनी त्यसै गर्थे ।

    त्यसयता दुई दशकभन्दा बढी अवधिदेखि सुगरको औषधी नियमित खाइरहेको छु । तर कोभिडको बेलामा सुगरको नियमित परीक्षण सम्भव भएन । लामो अन्तरालमा सुगर परीक्षण गराउँदा केही बढेको र त्यसले गर्ने अन्य असर पनि शरीरमा देखियो ।

    त्यही क्रममा काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पाँच दिन भर्ना हुनु पर्‍याे । त्यहाँ चिकित्सकको निगरानी, जाँच्ने शैली, नर्सको व्यवहार हेर्दा पुरानो अनुभवसँग मेल नै नखाने पाएँ । बिरामीलाई राम्रो हेरचाह र परीक्षण हुने गरेको देखेर त्यसै सन्तुष्टि अनुभव भयो । त्यसयता निरन्तर चिकित्सकको निगरानी, फलोअप जारी नै छ । फलोअपमा पनि चिकित्सकको बिरामीसँगको व्यवहार चित्तबुझ्दो नै पाएँ ।

    गएको वैशाखमा घाँटीमा संक्रमण भयो । टन्सिल बल्झेजस्तै भएर निकै दुखेपछि काठमाडौंको सिनामंगलस्थित काठमार्डौं मेडिकल कलेज (केएमसी) जचाउँन पुगेंसंक्रमणले मेरो स्वास नलीलाई नै साँघुरो बनाएकाले उपचारका लागि अस्पताल भर्ना हुनु पर्‍याे ।

    अस्पतालको केही दिनको बसाइले मेरो चिकित्सक र नर्सप्रतिको दृष्टिकोण नै बदलिदियो । त्यहाँका चिकित्सक र नर्सको व्यवहारले आधा बिमारी निको भएजस्तो भान भयो । चिकित्सकको राम्रो व्यवहारले रोगसँग लड्न हौसला दिन्छ भन्ने मलाई अनुभव भयाे । नाक, कान, घाँटी राेग विशेषज्ञ डा मीरा विष्टको निगरानीमा अस्पतालमा बिताएका केही दिन घरमै बसेजत्तिकै भयो । डा विष्ट र उनको टिम बिरामीलाई निको पार्न निकै प्रयत्नशील हुनुका साथै बिरामीलाई मानसिक रुपमा बलियो बनाउन पनि उत्तिकै सक्षम पाएँ । डा मीराजस्ता असल चिकित्सक पनि छन भन्ने बिरामीलाई थाहा हुन जरुरी छ । उनको टिमले पनि उनीबाट असल व्यवहार सिकेका रहेछन् ।  

    आफ्नै अभिभावकलाई झैँ डाक्टर र नर्सले गर्ने व्यवहारबाटै आधा बिमारी निको भएको  महसुस हुँदो रहेछ । चिकित्सकका व्यवहार बारे केही पुराना आफ्नै अनुभव र अरुबाट पनि धेरै नकारात्मक कुराहरू सुनिएको थियो । तर मेरो अस्पतालाई बसाइको लामो अनुभवमा भने चिकित्सकप्रति कुनै गुनासो रहेन । हरेक व्यक्तिको आफ्नै स्वभाव हुन्छ र त्यसअनुसार उसको व्यवहार पनि हुने गर्छ । तर चिकित्सकले अलिकति व्यवहारलाई बिरामी मैत्री बनाएमा भने नेपालजस्तो औषधोपचारमा पछाडि परेको मुलुकमा धेरै ठूलो राहत हुन्छ ।

    किड्नीमा पनि समस्या देखिएकाले अर्का चिकित्सक डा अनिल पोखरेलले नियमित जाँच गरे । उनको व्यवहारका कारण उनी चिकित्सकभन्दा पनि आफन्तजस्ता लाग्थे । बिरामीसँगको सरल व्यवहार, बिरामीलाई पर्याप्त समय दिएर परीक्षण गर्ने, डिस्चार्ज भएपछि पनि केही समस्या पर्दा फोनमै परामर्श दिने विशेषताले पोखरेल पनि बिरामी मैत्री लागे । केही दिन भर्ना भएर डिस्चार्ज भएपछि नियमित स्वास्थ्य परीक्षणकै क्रममा जाँदा पनि चिकित्सकले राम्रोसँग परीक्षण गर्ने र बिरामीको उत्साह बढाउने गरेको देख्दा मन प्रसन्न भएर आउँछ । केएमसीमा दुई साता लामो बसाइले बिरामी निको हुनुसँगै मानसिक रुपमा आफूलाई अझ बलियो पाएको छु । 

    सुरुवातमा सुगर जचाउने क्रममा झर्कोफर्को गर्नेदेखि बिरामीले सोधेको प्रश्नको उत्तर नदिने चिकित्सकसँगको सम्पर्कले एउटा नकारात्मक धारणा कायम रहेको ममा अहिले त्यो फेरिएको छ । बिरामीमाथि दुर्व्यवहार गर्ने, बिरामीका कुरुवासँग झर्कोफर्को गर्ने डाक्टर पनि नभएका हैनन् । हरेक पेशा व्यवसायमा झर्कोफर्को गर्ने केही व्यक्ति हुन्छन नै । तर बिरामी हुनु भनेको असहाय भएर डाक्टरको आड लिन आइपुगेको व्यक्ति हो । तिनीहरूसँग गर्ने व्यवहार सरकारी कर्मचारीले सेवाग्राहीसँग गर्नेजस्तै चैं कुनै हालतमा हुनु हुँदैन । कसैको त्यस्तो स्वभाव छ भने ती डाक्टरले पनि आफूलाई परिवर्तन गरेर बिरामीसँग राम्रो व्यवहार गरेमा समाजमा चिकित्सकप्रति सकारात्मक धारणा बढ्छ । 

    आजभोलि चिकित्सक कुटिएका समाचारहरू पनि फाटफुट आइरहेका छन् । त्यसो हुनुमा चिकित्सकको पनि कमजोरी हुनसक्छ । चिकित्सकले आफ्नो व्यवहारबाट बिरामी र उनका आफन्तलाई राम्रो छाप छाड्ने अवसर किन गुमाउनु ? बिरामी मैत्री व्यवहार गर्दा कुनै खर्च लाग्ने हैन, न त आम्दानी नै कम हुन्छ । 

    बिरामीलाई अनावश्यक परीक्षण गराउने, नचाहिँदो औषधी सिफारिस गर्ने, आम्दानीका लागि गर्नै नपर्नेलाई पनि अप्रेसन गर्नेजस्ता गुनासो आउने गर्छ । कति कठिनाइले मानिसहरू औषधी गरिरहेका हुन्छन् । आर्थिक रुपमा सबै सबल हुँदैनन् । त्यस्ता बिरामीलाई अनावश्यक खर्च नगराउनेतिर चिकित्सकले ध्यान दिनुपर्छ । 

    एउटालाई गरिब बनाएर आफू धनी बन्नु कुनै हालतमा पुण्य होइन । एउटाको खुसी खोसेर आफू खुसी हुन खोज्नु किमार्थ धर्म होइन । मिटरब्याजी धेरैको उठिबास लगाएको समाचार आजभोलि ब्यापक छ । कतिपयले बिरामी परेकै कारण उपचार गराउन मिटरब्याजीसँग ऋण लिएका छन् । उपचारकै लागि त्यसरी मिटरब्याजीकोमा पुग्नु पर्ने अवस्था नआओस् भनेर चिकित्सक र सरकारले पनि सोचिदेओस् । मिटरब्याजीलाई मात्र कारबाही गरेर यो समस्या समाधान हुँदैन । मिटरब्याजमा ऋण लिन बाध्य तुल्याउने अवस्थाहरू पनि अन्त्य गरिनुपर्छ । यसतर्फ निजी स्वास्थ्य संस्था संचालन गर्ने, सरकारी स्वास्थ्य संस्था र सरकारले संयुक्त ध्यान दिन जरुरी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology