Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाग्मती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै

बाग्मती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै

  • 225
    SHARES
  • बाग्मती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै

    काठमाडौं । बाग्मती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ ।

    २०४३ सम्म बाग्मतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

    गुरुयोजनाका लागि खाका (ड्राफ्ट) बनेको र त्यसलाई अन्तिम रुप दिनका लागि विभिन्न सारेकारवाला निकायसँग छलफल भइरहेको समितिका इन्जिनियर कमल अर्यालले बताए।

    यस वर्ष अन्तिम रुप दिइने गरी तयारी अघि बढाइएको उनको भनाइ छ । इन्जिनियर अर्यालले भने, ‘अबको २० वर्षमा बाग्मतीमा बाँकी रहेका सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।’

    गुरुयोजना अनुसार बाग्मतीको पानी सफा गर्ने, दुवैतर्फ ढल, करिडोर निर्माण गर्ने, यसका सहायक र उपसहायक नदी सफा गरिनेलगायत विषय समेटिएका समितिले जनाएको छ ।

    ठोस फोहर मात्र नभइ तरल फोहर पनि व्यवस्थापन गर्न जरुरी रहेकाले तरल फोहर व्यवस्थापनका क्षेत्रमा पनि काम गरिने समितिका इन्जिनियर अर्यालले बताए । उनका अनुसार तरल फोहर व्यवस्थापनका लागि ढल निर्माण गर्नुपर्ने भएकाले नदी किनारामा ढलको लाइन बिच्छाइने छ ।

    ‘ढलको लाइनलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरेपछि सफा भएको पानी मात्रै खसाल्ने योजना छ’, अर्यालले भने । उनले यो काम कतिपय नदीमा भइरहेकाले बाँकी नदीमा पनि अघि बढाइने बताए ।

    समितिले अहिले उपत्यकाका ११ खोलामा तरल फोहर व्यवस्थापनको काम गरिरहेको छ । बाग्मतीसँग जोडिने सहायक खोला तथा सहायक खोलासँग जोडिएका उपसहायक खोलामा काम भइरहेको इन्जिनियर अर्यालले जानकारी दिए ।

    उनका अनुसार ती सबै खोला बागमतीमा मिसिने हुँदा सबैमा काम गरिएको हो । उपत्यकामा विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, बल्खु, मच्छे खोला, महादेव खोला र मनोमती खोला, नख्खु, कर्मनाशा, हनुमन्ते खोला छन ।

    ती सबै खोला तथा सहायक खोला सफा बनाउन दुबैतर्फ ढलको लाइन बिच्छाउने इन्जिनियर अर्यालले बताए । करिडोर बनाउने, तटबन्ध निर्माण गर्ने, बाँध बनाउने, नदी किनारामा रहेका मठमन्दिरको पुनर्निर्माण पनि गरिने उनको भनाइ थियो ।

    बाग्मतीमा मिसिने खोलाहरूमा फोहर पानी प्रशोधनको काम हुन बाँकी रहेको इन्जिनियर अर्यालले बताए । ‘विष्णुमतीमा ढलको लाइन बिच्छाइएको भए पनि विष्णुमती र बाग्मती मिसिएको ठाउँमा पाँच सय मिटरमाथि जाँदा दाहिनेतर्फ मनोमती खोलाबाट ढल आइरहेको छ’, इन्जिनियर अर्यालले भने ।

    १३ किमी लम्बाइको उक्त खोलामा दुवैतर्फ १३/१३ गरी २६ किमी ढलको लाइन नजोड्दासम्म खोला सफा नहुने इन्जिनियर अर्यालले बताए ।

    इन्जिनियर अर्यालले भने, ‘मनोमतीसँग जोडिने ससाना खोल्साहरू जुनमा तल ढल बग्छ र माथि गाडी गुड्छन् । त्यसलाई पनि व्यवस्थित नगर्दासम्म बाग्मती सफा हुँदैन ।’ 

    सरकारले २०६६ मा पाँच वर्षको बागमती कार्ययोजना बनाइएको थियो । अहिले सोही कार्ययोजनालाई परिमार्जित गरेर २० वर्षे गुरुयोजना बनाउन लागिएको समितिले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij