Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भारतसँग जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग

भारतसँग जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग

  • 181
    SHARES
  • भारतसँग जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग

    काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका-१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो ।

    नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ ।

    नाका सञ्चालनमा नआउँदा नेपाल-भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए ।

    स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उनले बताए ।

    नेपालले चिवाभञ्ज्याङसम्म एक दशकअघि नै सडक पुर्याएको थियो । मध्यपहाडी लोकमार्गको ट्रयाक खोलिएसँगै यहाँसम्म सवारीसाधन पुग्न थालेका थिए ।

    दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिसकेको छ । यहाँ राज्यको उपस्थिति छैन । नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन् ।

    याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङले भने, ‘सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्नका लागि आउने भारतीय नागरिकले बाटो प्रयोग गर्न पाएका छैनन् । यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन् ।’

    पाँचथर र ताप्लेजुङका सयौँ परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ । अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको प्रवेश अनुमतिपत्र बोकेर मात्र आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ ।

    ‘सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ ।’ वडाध्यक्ष खालिङले बताए । चिवाभञ्ज्याङको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल तैनाथ छ । नेपालतर्फ पनि तीन वर्षअघि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

    दुवैतर्फ सुरक्षाकर्मी तैनाथ गरिएको अवस्थामा नाकालाई व्यवस्थित गरिनुपर्ने गाउँपालिकाका अध्यक्ष योङ्याको भनाइ छ ।

    यहाँ भन्सार कार्यालय स्थापना गर्न माग गरिएको छ । नाका सञ्चालन भए पाँचथर र ताप्लेजुङका सीमावर्ती गाउँपालिका याङवरक, फालेलुङ, सिरिजंघा, सिदिङ्वाका ग्रामीण क्षेत्रको उत्पादनले भारतमा बजार पाउने स्थानीयवासी बताउँछन् । 

    मध्यपहाडी लोकमार्गसँग याङवरक-६ गणेशचोकमा मेची राजमार्ग र हिलिहाङ-१ फेदापामा तमोर करिडोर जोडिन्छ । नाका खुलेमा सामग्री आयात गर्न सहज हुने, राजस्व संकलनमा वृद्धि हुने अध्यक्ष योङ्या बताउँछन् ।

    चिवाभञ्ज्याङबाट याङवरक-४ दारिम्बासम्म मध्यपहाडी लोकमार्गको ५१ किलोमिटर सडक कालोपत्र गर्न बाँकी नै छ ।

    कालोपत्रका लागि ठेक्का आह्वान गरिएको छ । सीमानाका सहजरुपमा सञ्चालनमा आए  भारतीय पर्यटक भित्र्याउन ससहज हुने देखिन्छ ।

    अहिले पनि दिनहुँ भारतीय पर्यटक पाथीभरा मन्दिर पुग्ने गर्छन् । उनीहरू झापाको काँकरभिट्टा नाका हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन् ।

    नाका सञ्चालनका लागि भारत सरकारसँग सम्झौता गरी चिवाभञ्ज्याङलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्नुपर्ने गाउँपालिकाको माग छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij